एजेन्सी, ५ जेठ । स्पानिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा पुगेको छ ।
सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई सेमिफाइनलमा हराएर उपाधिका लागि स्थान बनाउन सफल भएको हो ।
गएराति भएको दोस्रो लिगको खेलमा सेभियाले युभेन्ट्सलाई २–१ ले हराउँदै समग्रमा ३–२ को जित हात पारेको हो । पहिलो लिगमा यी दुईबीचको खेल बारबरी अर्थात १–१ मा सकिएको थियो ।
दोस्रो लिगमा डुसान भ्लाहालोभिचले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाएका थिए । सुसोले सेभियाका लागि बराबरी गोल फर्काएपछि निर्धारित समयमा स्कोर समग्रमा २–२ भएको थियो ।
त्यसपछि अतिरिक्त समयमा पुगेको खेलमा सेभियाका लागि एरिक लामेलाले निर्णाक गोल गरेका थिए ।
रोमाले पहिलो लिगमा प्राप्त १–० को जितलाई नै रक्षा गर्न लेभरकुजनलाई पछि पार्दै फाइनल पुगे । दोस्रो लिग गोलरहित बराबरीमा सकिएपछि रोमा समग्रमा १–० ले विजयी भएको हो ।
अब सेभिया र रोमाबीच फाइनल खेल यही ३१ मे मा हंगेरीको बुढापेस्टस्थित पुस्कास स्टेडियममा हुने भएको जनाइएको छ ।


