जनकपुरधाम, २ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले अनुमतिविपरीत विजुली पोल र विभिन्न स्थानमा लगाइएको प्रचार सामग्री हटाउन सुरू गरेको छ ।
नगरप्रमुख मनोजकुमार साहको आदेशमा शहरलाई कुरूप बनाउने गरी राखिएका प्रचार सामग्री हटाउने कार्य सुरू गरिएको हो ।
प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम मंगलबारदेखि सुरू गरिएको उपमहानगरले जनाएको छ ।
शहरको सौन्दर्य बिगार्न सबैभन्दा बढी भानुचोक, रामानन्द चोक, शिवचोक, जनकचोक, विद्यापति चोकलगायतका स्थानमा विज्ञापन सामग्रीहरू अनुमति विना नै लगाइएको देखिन्छ ।
नगर प्रहरीले भित्तेलेखन, पोल, खम्बा र भित्तामा टाँसिएका पर्चा, पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाइरहेको छ ।
नियमअनुसार सार्वजनिकस्थान, छिमेकीलाई असर पर्ने गरी, घरको छत र झ्याल ढोका छोपेर विज्ञापन राख्न पाइदैन । यी नियमलाई आधार मान्ने हो भने जनकपुरधाम नगरक्षेत्रभित्र राखिएका अधिकांश प्रचार सामग्री नियम बाहिर देखिन्छन् ।
शहरभित्र सबैभन्दा बढि विद्यालय तथा शैक्षिक संस्था र व्यक्तिगत रूपमा शुभकामनाका नाममा प्रचारप्रसारका बोर्डहरू देख्न सकिन्छ ।
सार्वजनिक सडक (दोस्रो संशोधन) २०४६ ले सार्वजनिक सडकको आवगमनमा बाधा पुर्याउने माल वस्तु हटाउने अधिकार स्थानीय निकायलाई दिइएको छ । ऐनमा सडक विभाग तथा स्थानीय निकायको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिनेगरी वा सीमाभित्रको जग्गा आवादी गर्न वा त्यस्तै अन्य कुनै कार्य गर्न नहुने उल्लेख छ ।


