काठमाडौं, २ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै विजयी भएको छ ।
गएरातिको यस जितपछि गुजरातले एक खेल बाँकी रहदाँ नै प्लेअफमा आफ्नो स्थान पक्का गर्न सफल भएको हो ।
१३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा पुगेको छ । गुजरातले शीर्ष दुईमा रहने पक्का भएको छ भने सिधै क्वालिफायर खेल्नेछ । उक्त खेल जितेमा गुजरात सिधै फाइनल पुग्ने सम्भावना रहेको छ ।
आठौं हार बेहोरेको हैदरावाद लिगको चरणबाट बाहिरिने दोस्रो टिम हो । यसअघि दिल्ली क्यापिटल्स लिगबाट बाहिरिएको थियो ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिलको सानदार शतकमा ९ विकेट गुमाउँदै १८८ रन बनाउन सकेको थियो । टिमले रनको खाता नखोल्दै ओपनर ऋद्दिमन शाहलाई गुमाए पनि गिले साई सुदर्शनसँग मिलेर १४७ रनको साझेदारी गरेका थिए । गिलले ५८ बलमा १३ चौका र १ छक्काको मद्दतले १०१ रन बनाएका थिए ।
साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरी ४७ रन जोडेका थिए । हैदरावादका भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिएका थिए ।
१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन बनाएका थिए । भने भुवनेश्वर कुमारले २७ रन जोड्न सकेका थिए ।
गुजरातका लागि मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए । भने मोहित शर्माले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिएका थिए ।


