धनुषामा ‘सडक सुरक्षा सप्ताह’ मनाइँदै


जनकपुरधाम, १ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सोमबारदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु भएको हो ।

उक्त सप्ताहब्यापी कार्यक्रमको शुरुवात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले गरेका छन् ।

‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नारा लिइ सुरु भएको सडक सुरक्षा सप्ताहमा चालकहरुलाई सडक सुरक्षाको बिषयमा सचेतना कार्यक्रमको आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले जानकारी दिए ।

शान्तिपूर्ण एवम् सुरक्षित यात्राका लागि सोमबारदेखि सुरु गरिएको सडक सुरक्षा सप्ताह २०८० कार्यक्रम जेठ ७ गतेसम्म आयोजना गरिने उनले बताए ।

उनले पहिलो दिन सोमबार प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै दोस्रो दिन मंगलबार नगरभित्रका विद्यालयका विद्यार्थीहरुलाई ट्राफिक सेचतना सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताए ।
त्यस्तै, तेस्रो दिन बुधबार जथाभावी बाटो काट्ने, हेल्मेटको बेल्ट नलगाउने, ट्राफिक नियमको पालना नगर्ने लगायतका विषयहरुमा मुख्य मुख्य चोकहरुमा सचेतना कार्यक्रमको आयोजना गर्नुका साथै बिहीबार चौथो दिन सरोकारवालाहरुसँग ट्राफिक सचेतनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

सडक सुरक्षा सप्ताहको पाँचौ दिन शुक्रबार भित्री सडकखण्ड अर्थात ग्रामिण क्षेत्रमा सवारी चालकहरुलाई ट्राफिक नियम र दुर्घटना न्यूनिकरणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने भएको छ भने छैटौं दिन शनिबार इ–रिक्सा चालकहरुलाई ट्राफिक सचेतनाबारे जानकारी दिइने प्रहरी निरीक्षक साहले जानकारी दिए ।

कार्यक्रमको अन्तिम दिन जेठ ७ गते आइतबार नगरका मुख्य चोकहरुमध्ये कुनै एक स्थानको छनोट गरी त्यहाँ दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको उनले बताए ।

सोमबार सडक सुरक्षा सप्ताहको पहिलो दिन मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतकाहरुले सडक दुर्घटना न्यूनिकरण र सडक सुरक्षाबारे आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार