काठमाडौं, ३१ बैशाख । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बन्न सफल भएको छ ।
शनिवार राति भएको खेलमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएपछि दिल्लीको शीर्ष चारमा पर्ने सम्भावना भने सकिएको हो । दिल्लीको १२ खेलबाट ८ अंक छ भने अन्तिम स्थानमा रहेको छ । दिल्लीले बाँकी दुई खेल जिते पनि हाल शीर्ष चारमा रहेको टिमलाई पाउन सक्ने अवस्था छैन ।
प्रभशिमरन सिंहको शतकमा र हरप्रित ब्रारको ४ विकेट प्रदर्शनमा पञ्जाबले सिजनको छैटौं जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । १२ खेलबाट १२ अंक जोडेको पञ्जाब छैटौं स्थानमा पुग्न सफल भएको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । पञ्जाबका ओपनर प्रभशिमरनले ६५ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा १०३ रन बनाएका थिए । साम करनले २० रन जोडे भने सिकन्दर राजाले अविजित ११ रन बनाए ।
दिल्लीका इशान्त शर्माले २ तथा अक्षर पटेल, प्रवा दुवे, कुलदीप यादव र मुकेश कुमारले समान १ विकेट लिएका थिए ।
१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेट गुमाएर १३६ रन मात्र बनाएका थिए । दिल्लीका कप्तान डेभिड वार्नरले २७ बलमा १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ५४ रन बनाए भने पिद्य साल्टले २१ रन जोड्न सके । त्यस्तै अमन हाकिम खान र प्रविन दुवेले समान १६ रन बनाएका थिए ।
त्यस्तै हरप्रित ब्रारले ४ विकेट लिएका थिए भने नाथन एलिस र राहु चहरले समान २ विकेट लिए ।


