सर्लाही, ३० बैशाख । सर्लाही प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोडैता नगरपालिका–११ बस्ने २२ वर्षीय अजय सहनी र गोडैता–८ बस्ने ३२ वर्षीय ताजबावु दर्जी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुबैजनालाई बरहथवा–५,चोर्निया पुलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
जिल्लाको मधुवनबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई शनिबार इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको उनले बताए ।
बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुर चोहडवाको संयुक्त टोलीले गाडी चेकजाँच गर्ने क्रममा सहनीको साथबाट लागूऔषध एकसय एमएलको कोडीवेल ८९ बोतल, नोफिन २ एमएलको ९१ थान, डाइजिपाम २ एमएलको ९१ थान, फेनरगन २ एमएलको २७४ थान, नाइट्रोभेट ३ सय थान,निट्जा केयर ९ सय थान र दर्जीको साथबाट कोडीवेल कफसिरप एकसय एमएलको ९८ थान लागुऔषध बरामद गरेको डीएसपी मिश्रले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


