काठमाडौं, २३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड–१९ लाई लिएर जारी गरेको उच्च तहको सतर्कता तीन वर्षपछि अन्त्यको घोषणा गरेसँगै हटाएको छ ।
विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा अब कोरोना महामारी नरहेको घोषणा गर्दै डब्ल्यूएचओले संक्रमण रोकथामका लागि अपनाउने गरिएका सतर्कता हटाएको हो ।
डब्ल्यूएचओको यो घोषणालाई कोरोना महामारी अन्त्यको एउटा महत्वपूर्ण कदमको रुपमा लिएको जनाइएको छ ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको थियो । भाइरसको फैलावट रोक्न डब्ल्यूएचओ कडा प्रतिबन्धात्मक विभिन्न नियमहरु जारी गरेको थियो ।
कोरोना महामारीका कारण विश्वभर ७० लाख मानिसको मृत्यु भएको पुष्टि डब्ल्यूएचओले गरेको छ । तर उसले मृतकको संख्या यो भन्दा तीन गुणा बढी हुन सक्ने अनुमानसमेत गरेको छ ।
अधिकारीहरूका अनुसार कोरोना संक्रमणका कारण साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरी महिनामा एक लाख भन्दा बढीसम्म पुगेको थियो । यो उच्च विन्दुबाट गत महिना (२४ अप्रिल)मा मृत्युदर तीन हजार पाँच सयमा झरेको बीबीसीले जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले आपतकालीन समितिको १५ औं बैठकमा आएको सुझाव अनुसार जनस्वास्थ्य आपतकाल अन्त्य भएको घोषणा गरेको जनाएका छन् ।
तर खतरा भने कायमै रहेकाले सतर्कता अपनाउनसमेत उनले बताएका छन् । अवस्था फेरिएमा स्वास्थ्य आपतकाल फेरि घोषणा गर्न सकिने उनले प्रस्ट्याएका छन् ।


