काठमाडौं, १४ बैशाख । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान गरिने बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा बिहीबार आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै उनले मौद्रिक नीतिमा संशोधन गरी ब्याजदर घटाउन आफू लागिपरेको बताएका हुन् ।
उनले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्ने बताए । राष्ट्र बैंकलाई स्वतन्त्र रुपमा काम गर्ने अधिकार भएको भन्दै उनले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताए । उनले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताए ।
अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ छ । आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उनले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने बताए ।


