बारा, १३ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले निर्वाचित भएका हुन् ।
जसपा नेपालका अध्यक्ष यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटत्तम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत ल्याए ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत, रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव उपचुनावबाट निर्वाचित भई सांसद बन्न सफल भएका छन् । बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रित्त रहेको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट रास्वपाका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाका नेता डा. स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।


