एजेन्सी, ७ वैशाख । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो । पहिलो लेगमै सिटीले बायर्नलाई ३–० ले पराजित गरेको थियो ।
सिटीले फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्ने भएको छ ।
बायर्नको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसअघि ३७औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्न सकेन ।
यस सिजनमा सबैखाले प्रतियोगितामा गरी हालान्डले ४८ गोल गरिसकेका छन् भने बायर्नका लागि जोसुअ किमिचले ८३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काएका थिए ।


