जन्मदिनको पार्टीमा गोलाबारी चल्दा ४ को मृत्यु, २८ घाइते


एजेन्सी, ४ वैशाख । अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो ।

अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’ डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए ।

उनले भने, ‘मारिएका युवा हाम्रा स्टार खेलाडीमध्येका एक थिए । उनी धेरै राम्रो मान्छे थिए। मैले यी धेरै विद्यार्थीहरूलाई चिनेको थिएँ। डेडेभिल एउटा सानो सहर हो र यो घटनाले यहाँ सबैलाई असर गर्नेछ।’ लगभग ३२ सय जनसङ्ख्या भएको यो सहर अलाबामा को पूर्वी भागमा तल्लापोसा काउन्टीमा रहेको छ ।

अमेरिकामा शनिबार केन्टकी राज्यको लुइसभिलको एउटा पार्कमा गोली चलेको अर्को घटना भएको छ । उक्त घटनामा दुई जनाको मृत्यु भएको र चारजना घाइते भएको समाचार रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार