नेपाली र दक्षिण भारतीय निर्माताले ओटीटीमा फिल्म रिलिज गर्ने


काठमाडौं, ४ वैशाख । नेपाल र भारतका दुई फिल्म सम्बद्ध संस्थाहरु आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् ।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा यस्तो सहमति जुटेको हो ।

नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई मुलुकबीच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो ।

समिटको प्रमुख अतिथिको रुपमा सहभागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे । नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको चर्चा गरे ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन् । उनका अनुसार नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिनेछ । यसका लागि आफूहरुसँग १५ देखि १८ वटा ओटीटी प्लेटफर्म रहेको जानकारी उनले दिइन् ।

एनएफपीसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताए ।

एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको बताए ।

एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ । टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ । समारोहाम अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए ।

वक्ताहरुले एकअर्कोको मुलुकमा संयुक्त लगानीका फिल्म निर्माणको सम्भावनाबारे पनि जोड दिएका थिए । अभिनेता कृष्ण मल्लले द्धिपक्षीय सहमतिका लागि शुभकामना दिए । समिटको क्रममा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय गर्न महत्वपूर्ण भूमिका खेल्ने कलाकार, संगीतकर्मी, प्रदर्शक, निर्माता र निर्देशकलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार