जनकपुरधाम उपमहानगरपालिकामा आर्थिक बेथितिका चाङ


जनकपुरधाम, १ बैशख । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को वक्यौता रहेकोमा यो वर्ष पनि लेखापरीक्षण गराएको छैन ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिका, सर्लाहीको कविलासी नगरपालिका र बसबरिया गाउँपालिका, पर्साको ठोरी गाउँपालिका र रामेछापको लिखु तामाकोशी गाउँपालिकासहित पाँच स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ को वक्यौता रहेकोमा यो वर्ष पनि लेखापरीक्षण गराएका छैनन् ।

त्यस्तै, सर्लाहीको धनकौल गाउँपालिका, पर्साको पकहामैनपुर गाउँपालिका, रौतहटको कटहरिया र गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बक्यौता लेखापरीक्षण यो वर्ष समेत गराएका छैनन् ।

सर्लाहीको बलरा नगरपालिका र महोत्तरीको सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा स्रेस्ता पेस नगरेको कारण लेखापरीक्षण बक्यौता रहन गएकोमा हालसम्म लेखापरीक्षण गराएका छैनन् ।

उता, महोत्तरीको गौशाला र लोहररपट्टी नगरपालिका तथा पिपरा र सम्सी गाउँपालिकाले आर्थिक वर्ष २०७३/७४ को वक्यौता लेखापरीक्षण यो वर्ष पनि गराएका छैनन् ।

८१ योजनामा ५० लाख ५४ हजार बढी रकम भुक्तानी

जनकपुरधाम उपमहानगरपालिकाले ८१ योजनामा ५० लाख ५४ हजार बढी रकम भुक्तानी गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार खानेपानी हेण्ड पाइपको ढुवानी भाडा गणना गर्दा जिल्ला दररेटमा उल्लेख भएको सवारी भाडा दरमा १५ प्रतिशत थप गर्नुपर्नेमा पाइपको दरमा १५ प्रतिशत थप गरी मूल्याङ्कन गरेकोले ८१ योजनामा ५० लाख ५४ हजार बढी भुक्तानी भएको देखिएको छ ।

पाइपको मूल्याङ्कन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १० मा निर्माण कार्यको लागत अनुमान तयार गर्दा स्वीकृत नर्म्स र जिल्ला दररेटको अधारमा तयार गर्नु पर्ने व्यवस्था छ ।

जनकपुरधाम उपमहानगरपालिकाले खानेपानी हेण्ड पाइपको लागत अनुमान तयार गर्दा खानेपानी विभागले तयार गरेको स्वीकृत नर्म्स अनुसार तयार गरी जिल्ला दररेटको आधारमा भुक्तानी गर्नुपर्नेमा पाईपको तौल चार्टमा उल्लेख भएको भन्दा बढी तौल उल्लेख गरी मूल्याङ्कन गरेको छ । बढी भुक्तानी भएको रकम असुल हुनुपर्ने महालेखाको ठहर छ ।

२ करोड ५६ लाख ४६ हजारको गाडी प्रयोगविहीन

जनकपुरधाम उपमहानगरपालिकाले जनताको करबाट खरिद गरिएको करोडौंको सवारी साधन प्रयोगविहीन अवस्थामा राखेको छ ।

उपमहानगरले १ करोड ३७ लाख ८६ हजार रुपैयाँमा खरिद गरेको गाडी दुर्घटनापश्चात् विगत ३ वर्षदेखि वर्कशपमा थन्काइएको छ भने १ करोड १८ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको ब्रुमर समेत मर्मत नगरी प्रयोगविहीन अवस्थामा रहेको छ ।

प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले २०७५ असार २५ गते १ करोड ३७ लाख ८६ हजारमा खरिद गरेको गाडी २०७६ माघ ७ गते दुर्घटनामा परेपश्चात् विगत ३ वर्षदेखि वर्कशपमा रही प्रयोग विहीन अवस्थामा रहेको उल्लेख छ ।

यसैगरी उपमहानगरले २०७६ असार २४ गते १ करोड १८ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको ब्रुमर समेत मर्मत नगरी प्रयोगविहीन अवस्थामा रहेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ९४ मा सरकारी सम्पत्तिको हिनामिना नहुने गरी संरक्षण गर्ने कर्तव्य त्यस्तो सम्पत्ति जिम्मा लिने कर्मचारी र कार्यालय प्रमुखको हुने उल्लेख छ ।

आर्थिक वर्ष समाप्त भएको ८ महिनासम्म पनि विद्यार्थीलाई दिएन छात्रवृत्ति

उपमहानगरपालिकाले आर्थिक वर्ष समाप्त भएको ८ महिनासम्म पनि विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छैन् ।

महालेखाको प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले इआइएमआइएसमा प्रवृष्टि भएको संख्याको आधारमा विद्यार्थी संख्या यकिन गरी मात्र छात्रवृति अनुदान निकासा गर्नुपर्नेमा सो नगरी ४६ विद्यालयमा ३३ लाख ८४ हजार निकासा गरेको छ ।

उपमहानगरपालिका अन्तर्गतका ३२ विद्यालयले २५ लाख ५६ हजार बराबरको रकम आर्थिक वर्ष समाप्त भएको ८ महिनासम्म पनि विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

छात्रवृत्ति वितरण कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७८ मा इआइएमआइएसमा प्रवृष्टि भएको संख्याको आधारमा विद्यार्थी संख्या यकिन गरी मात्र छात्रवृत्ति निकासा गर्नुपर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार