एजेन्सी, १ बैशाख । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ ।
चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन् ।
शुक्रबार चिनियाँ विदेशमन्त्री छन सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रुसमा चीनभन्दा अरु कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेकी हुन् ।
चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानवअधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिइन् । चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि बताइन् ।
गत साता चीनको राजकीय भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ लाग्न आह्वान गरेका थिए ।


