मधेस प्रदेश : वातावरणीय प्रदुषण हुने गतिविधि नगर्न उद्योग मन्त्रालयको आग्रह


जनकपुरधाम, १८ फागुन । उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेस प्रदेशले वातावरणीय प्रदुषण हुने गतिविधिहरु नगर्न आग्रह गरेको छ ।

प्रदेशभित्र ध्वनि प्रदुषणका कारण जनजीवनमा परेको कठनाईप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वातावरणीय प्रदुषण हुने गतिविधिहरु नगर्न आग्रह गरिएको हो ।

धार्मिक, सांस्कृतिक रुपमा मनाइने एवं सञ्चालन गरिने विवाह, व्रतबन्ध, मेला, जात्रा महोत्सव कार्यक्रमहरुमा चर्को आवाजमा डिजे, लाउडस्पीकर बजाउने, सार्वजनिक स्थानहरुमा होहल्ला गर्नेजस्ता गतिविधीका कारण ध्वनि प्रदुषण हुन गई दैनिक जीवनयापन, बिरामीको स्वास्थ्य अवस्था, अध्ययन अध्यापन, स्वास्थ्य संघ संस्थाहरुको सेवा प्रवाह लगायतका कार्यमा असर परेको जन गुनासोहरु प्राप्त भएकोले ध्वनि प्रदुषण नहुने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

होली पर्वको अवसरमा म्याद नाघेका विभिन्न प्रकारका केमिकलयुक्तको साथै वातावरण तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्याउने खालका रंग, अविरहरु प्रयोग नगर्न पनि प्रदेशभित्रका सम्पूर्ण सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको मन्त्रालयका प्रवक्ता सुजीत कुमार झाले जानकारी दिए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार