जनकपुर, ८ फागुन । विश्वको सबैभन्दा लामो धार्मिक पदयात्रा ‘मिथिला माध्यमिकी परिक्रमा’ आजदेखि विधिवत रुपले सुरु भएको छ ।
यस धार्मिक पदयात्रालाई नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक, तथा पारम्परिक सद्भावको प्रतिकका रुपमा रहेको छ ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाकोरुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसवर्ष आजदेखि सुरु भई फागुन २३ गते अर्थात १५ दिनसम्म चल्नेछ ।
मिथिला माध्यमिकी परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता हुन्छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु हुन्छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित विधिवतरुपमा परिक्रमा सुरु हुन्छ ।
परिक्रमाको पहिलो दिन जनकपुरधामस्थित हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी रहेका साधुसन्त तथा श्रद्धालुहरु त्यसको भोलिपल्ट बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।
फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरधामको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत सुरुवात हुने परम्परा रहेको अग्निकुण्डका महन्थ नवल किशोर शरणले बताए ।
परिक्रमामा सहभागीहरु क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।
यसको समापनसँगै होली पर्व मनाइन्छ ।
हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्दै आएका छन् ।
पवित्र धार्मिक स्थलहरूको परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थल छन् ।
मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक पदयात्रालाई माध्यमिकी परिक्रमाको परम्परा सुरुवात भएको हो ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी धार्मिक पदयात्रा हुदैँ आएको छ ।


