रौतहट, २ फागुन । रौतहटका एक सञ्चारकर्मी आमरण अनसनमा बसेका छन् ।
गौर नगरपालिका–४ टिकुलियामा रहेको लालबकैया नदीको पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि निर्माण नभएको भन्दै सञ्चारकर्मी सञ्जय सहनी सोमबार साँझदेखि आमरण अनसनमा बसेका हुन् ।
शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न गराउन कसैले चासो नदिंदा स्थानीयले पीडा खेप्नु परेको भन्दै सञ्चारकर्मी सहनी आमरण अनसनमा बसेका छन् ।
पुल निर्माणको काम तत्काल काम सुरु गर्न दबाव दिने उद्देश्यले आफू अनसनमा बसेको सहनीले बताए । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव समेत रहेका सहनीले अलपत्र परेको पुल निर्माणका लागि स्थानीयदेखि केन्द्रीय नेताहरुको समेत ध्यानकर्षण गराउन खोजेको जानकारी दिए । पत्रकार सहनी पनि लालबकैया नदी किनारकै बासिन्दा हुन् ।
२०७१ साल कात्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लालबकैया नदीमा बन्ने पक्की पुलको निर्माण गर्ने जिम्मा पप्पु कन्सन्ट्रक्सनले पाएको थियो ।
२०७४ असारसम्ममा निर्माण सम्पन्न हुनुपर्ने पुल शिलान्यास भएको ८ वर्ष बितिसक्दा पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न हुन सकेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने योजना थियो ।
पप्पु कन्सन्ट्रक्सनले काम नगरेपछि सडक डिभिजन कार्यालयले सो ठेक्का रद्ध गरेको थियो । रद्ध गरेको ठेक्कामा फेरि काम गराउन सडक विभागले अर्को टेन्डर आह्वान गर्न सकेको छैन । गौर र इशनाथ नगरपालिकालाई जोडने उक्त पुल निर्माण नहुदा दुवै पालिकाका वासिन्दाले आवतजावतमा कठिनाइ भोगिरहेका छन् ।
समयमै पुल नबन्दा २०७५ सालको भदौ ९ गते शनिबार साँझ ७ बजेको समयमा इशनाथ नगरपालिकाको औरैया क्षेत्रबाट गौरको टिकुलिया तर्फ आउदै गरेको डुङ्गा पुलको निर्माणाधीन पिलरमा ठोक्किँदा टिकुलियाका ५ जनाको ज्यान गएको थियो ।


