नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी कारागार चलान


धनगढी, २० माघ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ ।
अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

बिहीबार बाँकेबाट पक्राउ गरि धनगढी पुर्याएका चौधरीलाई शुक्रबार बिहान कैलाली जिल्ला अदालतमा बुझाएको थियो ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि कैलाली जिल्ला अदालतले १० वर्षअघि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । त्यो फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले करिब १० वर्ष पहिले चौधरीलाई ६ महिना कैद फैसला सुनाएको थियो । अदालतको उक्त फैसला अनुसार कैद सजाय भुक्तान नगरेका चौधरी प्रतिनिधिसभा निर्वाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

चौधरीसहित पर्शुराम चौधरी र वीर बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईँले मुद्दा दायर गरेका थिए ।

त्यसको केही वर्ष पछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएका थिए । सोही घटनामा प्रहरीले शुक्रबार वीरबहादुर चौधरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार