काठमाडौं । दक्षिण अमेरिकी देश पाराग्वेका राष्ट्रपति सान्टियागो पेनालाई महाअभियोगमार्फत पदबाट हटाइएको छ । बैंकिङ संकटसँग जोडिएको आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएको केही मिनेटमै उनलाई प्रहरीले पक्राउ गरी घरमै नजरबन्दमा राखेको बीबीसीले जनाएको छ ।
पेनालाई पदमुक्त गरेपछि उपराष्ट्रपति पेद्रो आलियानाले नयाँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका छन् ।
शुक्रबार संसद्को माथिल्लो सदन सिनेटमा भएको मतदानमा आफ्नै दलका सांसदसमेतले साथ दिएपछि पेना पदमुक्त भएका हुन् । उनीमाथि पदको दुरुपयोग र अनियमिततामा संलग्न भएको आरोप लगाइएको छ ।
पेनाले बिहीबार नै राष्ट्रपतिबाट राजीनामा दिने घोषणा गरेका थिए । तर संसद्ले उनको राजीनामा स्वीकार गर्नुको सट्टा महाअभियोग प्रक्रिया अघि बढाएर पदबाट हटाउने निर्णय गरेको थियो । यससँगै उनले पूर्वराष्ट्रपतिका रूपमा पाउने आजीवन सिनेट सदस्यको हैसियत र कानुनी उन्मुक्तिसमेत गुमाएका छन् ।
आर्थिक संकटले राजनीतिक रूप लियो
पेना गत वर्षसम्म बैंकको स्वामित्व रहेको कम्पनीमा सेयरधनी थिए । तर उनले आफू कुनै पनि गलत कार्यमा संलग्न नभएको दाबी गर्दै आएका छन् ।
पाराग्वेको केन्द्रीय बैंकले डिजिटल बैंक युएनोलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्पन्न आर्थिक संकटले राजनीतिक रूपसमेत लिएको हो । बैंकको कारोबार बन्द भएपछि करिब ३० लाख ग्राहक आफ्नो बचत तथा बैंकिङ सेवाबाट वञ्चित भएका छन् । यो संख्या पाराग्वेको कुल जनसंख्याको झन्डै आधा हो ।
बैंकमा सर्वसाधारणको बचतसँगै पेन्सन तथा सरकारी निकायको ठूलो रकमसमेत जम्मा रहेको थियो । निक्षेपकर्ताले आफ्नो रकम फिर्ता पाउन नसकेपछि राजधानी असुन्सियनसहित देशका विभिन्न स्थानमा व्यापक प्रदर्शन भइरहेको छ ।
पेनालाई पदबाट हटाउनुअघि लगाइएको महाअभियोग प्रस्तावमा स्वार्थको द्वन्द्व, नियामकीय निगरानीमा हस्तक्षेप, पेन्सन कोषको रकम दुरुपयोग तथा केन्द्रीय बैंकसँग सम्बन्धित विषयमा संस्थागत अनियमितता लुकाउन भूमिका खेलेको आरोप लगाइएको थियो ।
पाराग्वेका सरकारी वकिल सिल्भिया मार्गरिटा गोन्जालेज भेस्टरका अनुसार पेनासँग शनिबार विश्वासको दुरुपयोग, प्रभावको व्यापार र सार्वजनिक कोषको दुरुपयोगसम्बन्धी आरोपमा सोधपुछ गरिनेछ ।
युएनो बैंक प्रकरणले पाराग्वेमा पछिल्लो समय ठूलो राजनीतिक तथा आर्थिक संकट निम्त्याएको छ ।


