बारामा तीन थान बन्दुकसहित दुई जना पक्राउ


बारा । प्रहरीले बाराका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका–११ रतनपुरबाट भरुवा बन्दुकसहित एक युवक तथा सिम्रौनगढ नगरपालिका–६ सलेमपुरबाट दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित अर्का व्यक्ति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निजगढको रतनपुरस्थित फुटबल मैदाननजिक नियमित गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार राति करिब १०ः५० बजे स्थानीय ३९ वर्षीय समशेर रुम्बालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। सो क्रममा उनको साथबाट एउटा भरुवा बन्दुक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रुम्बाको साथबाट बन्दुकका अतिरिक्त सेतो प्लास्टिकको डब्बामा राखिएको बारुदजस्तो देखिने ८० ग्राम पदार्थ, एउटा सानो प्याकेट तथा बाँसको टुक्रा, प्लास्टिकको डोरी र रबरको ट्युब प्रयोग गरी बनाइएको पासोसमेत बरामद गरेको जनाएको छ।

भरुवा बन्दुकसहित पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय निजगढमार्फत अनुसन्धान अघि बढाइएको छ। बारा जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिए।

यसैबीच, सिम्रौनगढ नगरपालिका–६ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई हतियारसहित पक्राउ गरेको हो।

कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार