जलेश्वर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गरिएको बजार अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीहरूले बजार बन्द गरेका छन्।
अनुगमनका क्रममा व्यवसायीलाई त्रसित बनाउने, धम्की दिने तथा आवश्यक प्रक्रिया पूरा नगरी जरिवाना गरिएको आरोप लगाउँदै व्यवसायीहरूले विरोधस्वरूप बजार बन्द गरेका हुन्।
व्यवसायीहरूले उपभोक्ता हित र बजार नियमनका लागि नियमित अनुगमन आवश्यक भए पनि त्यसका नाममा व्यवसायीलाई आतंकित बनाउने तथा अपमानजनक व्यवहार गर्ने कार्य स्वीकार्य नभएको बताएका छन्।
अनुगमनको कार्यशैलीप्रति आपत्ति जनाउँदै जलेश्वर उद्योग वाणिज्य संघले व्यवसायीहरूसँग ऐक्यबद्धता जनाउँदै मधेश सरकारसमक्ष ज्ञापनपत्रसमेत बुझाएको छ। संघका अध्यक्ष शिवचन्द्र चौधरीको नेतृत्वमा गएको व्यवसायीहरूको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको हो।
अध्यक्ष चौधरीले जलेश्वरका व्यवसायीहरूले नेपाल सरकारले तोकेको कानुन तथा मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको दाबी गरे। तर, अनुगमनका क्रममा मन्त्री महतो नेतृत्वको टोलीले व्यवसायीलाई त्रसित बनाउने र धम्की दिने शैली अपनाएको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको उनले बताए।
संघले अनुगमनका क्रममा सम्बन्धित वस्तुको गुणस्तर परीक्षण नगरी गुणस्तरहीन भएको भन्दै सामान नष्ट गर्न लगाइएको, अनावश्यक रूपमा जरिवाना गरिएको तथा अनुगमनका क्रममा प्रश्न उठाउने वा आफ्नो धारणा राख्ने व्यवसायीलाई थुन्ने र मुद्दा चलाउनेसम्मको धम्की दिइएको आरोप लगाएको छ।
व्यवसायीहरूले बजार अनुगमनलाई प्रतिशोध वा आतंक सिर्जना गर्ने माध्यम नबनाई उपभोक्ता हित संरक्षण र व्यवसाय नियमनमा केन्द्रित गर्न माग गरेका छन्। कुनै वस्तुको गुणस्तरमाथि प्रश्न उठेमा सम्बन्धित प्राविधिक तथा प्रयोगशालामार्फत आवश्यक परीक्षण गरिएपछि मात्र कानुनी कारबाही अघि बढाउनुपर्ने उनीहरूको माग छ।
संघले व्यवसायीमाथि भएको भनिएको ज्यादतीको विरोधमा आफूहरू एकताबद्ध रहेको जनाउँदै माग सम्बोधन नभए चरणबद्ध आन्दोलन तथा प्रतिकारका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
व्यवसायीहरूले बजार अनुगमन आवश्यक रहेको स्वीकार गर्दै अनुगमनको प्रक्रिया पारदर्शी, मर्यादित र कानुनी मापदण्डअनुसार हुनुपर्नेमा जोड दिएका छन्।


