फुटपाथ अतिक्रमण हटाउँदै ट्राफिक प्रहरी


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा सवारी आवागमनमा देखिएको समस्या न्यूनीकरण गर्न ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले फुटपाथ व्यवस्थापन अभियानलाई तीव्रता दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा जिरोमाइलका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालको कमाण्डमा खटिएको ट्राफिक प्रहरी र जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रहरीको संयुक्त टोलीले सडक तथा फुटपाथमा राखिएका व्यापारिक सामग्री हटाउँदै आवागमन सहज बनाउने काम गरिरहेको हो ।

सडक तथा फुटपाथमा पसलका सामग्री राखेर बिक्री वितरण गर्दा पैदलयात्रीलाई हिँड्न समस्या हुनुका साथै सवारीसाधनको आवागमनसमेत प्रभावित हुने भएकाले नियमित रूपमा फुटपाथ व्यवस्थापन गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक दाहालले सडक र फुटपाथ पैदलयात्री तथा सवारी आवागमनका लागि प्रयोग हुने भएकाले त्यसलाई अवरोध हुने गरी सामान राखेर व्यापार नगर्न व्यवसायीलाई आग्रह गरे ।

उनले फुटपाथ व्यवस्थापनलाई प्रहरीको अभियानका रूपमा मात्र नलिई सडक सुरक्षा र सहज आवागमनसँग जोडेर हेर्नुपर्ने बताए ।

दाहालका अनुसार सडकमा अनधिकृत रूपमा सामान राख्दा सवारीसाधन र पैदलयात्री दुवै प्रभावित हुने तथा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले व्यवसायी, पैदलयात्री र सवारी चालक सबैले ट्राफिक नियमको पालना गर्न आवश्यक छ ।

उनले भने, ‘सडकमा सामान नराखौँ, फुटपाथलाई पैदलयात्रीका लागि प्रयोग गर्न दिऔँ । ट्राफिक नियमको पालना गरेर दुर्घटना न्यूनीकरणमा सबैले योगदान गरौँ । आफू पनि सुरक्षित बनौँ र अरूलाई पनि सुरक्षित राखौँ ।’

ट्राफिक प्रहरीले जनकपुरधामको व्यस्त बजार तथा सडक क्षेत्रमा दैनिक रूपमा ट्राफिक व्यवस्थापनसँगै फुटपाथ व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ ।

सडक सुरक्षा कायम गर्न प्रहरीको प्रयाससँगै स्थानीय व्यवसायी, पैदलयात्री र सवारी चालकको सहयोग पनि उत्तिकै आवश्यक रहेको प्रहरीले जनाएको छ ।

‘सडक सुरक्षा हाम्रो साझा जिम्मेवारी हो’ भन्ने सन्देशसहित ट्राफिक प्रहरीले सडक तथा फुटपाथलाई व्यवस्थित राख्न सबै पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार