रामजानकी रंगशाला निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चित, यसै वर्षदेखि काम अघि बढ्ने


जनकपुरधाम । जनकपुरधाममा लामो समयदेखि चर्चामा रहेको प्रस्तावित रामजानकी रंगशाला निर्माणको काम यसै आर्थिक वर्षदेखि अघि बढाउने गरी बहुवर्षीय बजेट सुनिश्चित गर्ने निर्णय भएको छ । रंगशाला निर्माणका लागि प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले बजेट विनियोजन गर्दै निर्माण प्रक्रिया अघि बढाइने भएको हो ।

धनुषा–३ का सांसद मनिष झाले जनकपुरधामको विकास र यहाँका युवाको आवश्यकतालाई केन्द्रमा राखेर रामजानकी रंगशाला निर्माणको प्रतिबद्धता अब कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन् । उनका अनुसार बहुवर्षीय बजेट सुनिश्चित भएपछि रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने आधार तयार भएको छ ।

‘यसै आर्थिक वर्षबाट रामजानकी रंगशाला निर्माण गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले लगानी हुनेछ,’ झाले भने, ‘यो जनकपुरधामका युवाप्रति गरिएको अर्को प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढेको हो ।’

रंगशाला निर्माणसँगै जनकपुरधाममा अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराउने कामसमेत सुरु भएको झाले बताएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षणलाई विकास योजनासँग जोडेर अघि बढाइएको उनको भनाइ छ ।

त्यसैगरी जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियालाई समेत अगाडि बढाइएको उनको दाबी छ ।

जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सम्पदा संरक्षणका कामलाई प्राथमिकतामा राखिएको झाले बताए । उनका अनुसार रामजानकी रंगशाला निर्माण, सार्वजनिक जग्गा संरक्षण तथा ऐतिहासिक सम्पदाको संरक्षण र विश्व सम्पदा सूचीकरणको पहललाई जनकपुरधामको समग्र विकास प्रक्रियाका रूपमा अघि बढाइएको छ ।

बहुवर्षीय बजेट सुनिश्चित भएसँगै अब रामजानकी रंगशाला निर्माणको भौतिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । यद्यपि निर्माणको विस्तृत योजना, लागत, कार्यान्वयनको समयसीमा तथा सम्बन्धित निकायबाट हुने औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै निर्माणको गति र स्वरूप स्पष्ट हुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार