मधेशमा एक महिनामै प्याजको मूल्य दोब्बर, चाडपर्वमा अझै बढ्न सक्ने व्यवसायीको चेतावनी


जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा पछिल्लो एक महिनामै प्याजको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ। भारतबाट हुने आयातमा निर्भरता, भारतीय बजारमै मूल्य वृद्धि तथा आयात लागत बढेपछि त्यसको प्रत्यक्ष असर मधेशका बजारमा परेको हो।

जनकपुरधाम बजारमा भदौको अन्तिम सातासम्म प्रतिकिलो ४५ रुपैयाँ रहेको सुकेको प्याजको थोक मूल्य अहिले बढेर ८५ देखि ९० रुपैयाँ पुगेको छ। थोकमै मूल्य बढेपछि ढुवानी, भण्डारण तथा खुद्रा व्यापारीको नाफा जोडिँदा उपभोक्ताले प्रतिकिलो १ सय ५ देखि १ सय १० रुपैयाँसम्म तिर्नुपरेको छ।

जनकपुर आलु प्याज व्यवसायी संघ धनुषाका अध्यक्ष सुरज साहका अनुसार भारतमा प्याजको मूल्य बढ्नुका साथै आयातमा देखिएको कडाइ र उत्पादनमा परेको असरले नेपालमा समेत मूल्य बढेको हो। प्रिमनसुनमै अत्यधिक वर्षा हुँदा भारतका विभिन्न क्षेत्रमा प्याज खेती प्रभावित भएको र आन्तरिक बजार व्यवस्थापनमा कडाइ गरिएपछि भारतीय बजारमा मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।

भारतबाट मात्रै सुकेको प्याज आयात हुने भएकाले भारतीय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने गरेको व्यवसायी बताउँछन्। यही अवस्था कायम रहे दशैँ लगायतका प्रमुख चाडपर्वमा प्याजको मूल्य अझै बढ्न सक्ने उनीहरूको अनुमान छ।

कृषि ज्ञान केन्द्र धनुषाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धनुषामा ८ सय ३२ हेक्टर क्षेत्रफलमा प्याज खेती गरिएको थियो। प्रतिहेक्टर १६ दशमलव १३ मेट्रिक टनका दरले जिल्लामा १३ हजार ४ सय १७ मेट्रिक टन प्याज उत्पादन भएको केन्द्रको तथ्यांक छ।

त्यस्तै, मधेश प्रदेशका आठवटै जिल्लामा १० हजार ७ सय ५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १४ दशमलव ३४ मेट्रिक टनका दरले १ लाख ५४ हजार ६ सय १३ मेट्रिक टन प्याज उत्पादन भएको थियो। प्रदेशमै उल्लेख्य उत्पादन भए पनि मागअनुसारको उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा पर्याप्त ध्यान नदिँदा आयातमा निर्भर हुनुपरेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीका अनुसार नेपालमा खपत हुने प्याजमध्ये करिब ७० प्रतिशत भारतको महाराष्ट्रस्थित नासिक र ३० प्रतिशत मध्यप्रदेशको इन्दौर क्षेत्रबाट आयात हुँदै आएको छ। स्वदेशमै उत्पादन हुने प्याजलाई व्यवस्थित रूपमा भण्डारण गर्न नसक्दा उत्पादनको समयमा सस्तो र अन्य समयमा भारतमा निर्भर हुनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

यता, उपभोक्ताले भने भारतमा मूल्य बढेको नाममा बजारमा अस्वाभाविक रूपमा मूल्य बढाउने गरिएको गुनासो गरेका छन्। बजार अनुगमन कमजोर हुँदा व्यापारीले वास्तविक लागतभन्दा बढी मूल्य लिने गरेको उनीहरूको आरोप छ। भारतबाट आयात हुने मूल्य, भन्सार तथा अन्य लागतका आधारमा बजार मूल्य निर्धारण भए–नभएको सम्बन्धित निकायले नियमित अनुगमन गर्नुपर्ने उपभोक्ताको माग छ।

प्याजसँगै जनकपुरधाम लगायत मधेशका केही बजारमा चिनीको मूल्यसमेत पछिल्ला दिनमा बढेको छ। खुद्रा बजारमा चिनी प्रतिकिलो १ सय ५ देखि १ सय १० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायीहरूले बताएका छन्।

दशैँ, तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले प्याजसहित अन्य खाद्यवस्तुको मूल्यमा थप दबाब पर्न सक्ने देखिएको छ। यस्तो अवस्थामा बजार अनुगमनलाई प्रभावकारी बनाउनुका साथै स्वदेशी उत्पादनको भण्डारण र आपूर्ति व्यवस्थापनमा सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार