जनकपुरधाम । मधेश प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा वितरणका लागि ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) पठाइएको छ ।
मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउँदै वितरण तथा आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै स्मार्ट कार्ड यातायात व्यवस्था कार्यालय गौरका लागि १ हजार १९१ थान र वीरगञ्जका लागि १ हजार १७२ थान पठाइएको छ ।
त्यसैगरी जनकपुरधामका लागि ९३२, लहानका लागि ४६०, बर्दिवासका लागि ३०३, राजविराजका लागि ५२, मलंगवाका लागि ३२ र कलैयाका लागि ११ थान स्मार्ट कार्ड छुट्याइएको छ ।
श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले सेवाग्राहीलाई लामो समयसम्म लाइसेन्सको प्रतीक्षामा बस्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयले उपलब्ध कार्डलाई सम्बन्धित कार्यालयमार्फत व्यवस्थित रूपमा वितरण गर्ने प्रक्रिया अघि बढाएको बताइन् ।
उनका अनुसार सवारी चालक अनुमतिपत्र वितरणमा देखिँदै आएको ढिलाइ घटाउँदै सेवा प्रवाहलाई सहज, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।
मन्त्रालयले सम्बन्धित यातायात कार्यालयका प्रतिनिधिलाई स्मार्ट कार्ड बुझिलिई कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी सेवाग्राहीलाई वितरण गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको विवरणअनुसार राजविराजमा ५२, लहानमा ४६०, बर्दिवासमा ३०३, जनकपुरधाममा ९३२, मलंगवामा ३२, गौरमा १ हजार १९१, कलैयामा ११ र वीरगञ्जमा १ हजार १७२ थान स्मार्ट कार्ड पठाइएको छ ।
यसरी मधेशका आठवटै यातायात व्यवस्था कार्यालयका लागि गरी कुल ३ हजार ८१ थान स्मार्ट लाइसेन्स कार्ड प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


