संचालकको अनुपस्थितिमा व्यवसायीको गोदाममा छापा मारेको भन्दै व्यवशायीको आपति


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा व्यवसायीको गोदाममा सञ्चालकको अनुपस्थितिमा छापा मारेर सामान नियन्त्रणमा लिइएको भन्दै विवाद उत्पन्न भएको छ । शिवपार्वती ट्रेडर्सका सञ्चालक शिवशंकर साहले गोदाममा ताला लागेको र आफू तथा अन्य जिम्मेवार व्यक्ति उपस्थित नरहेको अवस्थामा सशस्त्र प्रहरीले छापा मारेर गोदाममा रहेका सामान उठाएर लगेको आरोप लगाएका छन् ।

साहका अनुसार आइतबार दिउँसो सशस्त्र प्रहरीको अगुवाइमा उनको गोदाममा खानतलासी गरिएको थियो । त्यसबेला गोदाममा ताला लागेको र सञ्चालकसहित अन्य कुनै व्यक्ति उपस्थित नरहेको उनको दाबी छ ।

जनकपुर भन्सार कार्यालयले भने गोदाममा भन्सार छली तथा चोरी पैठारीका सामान रहेको आशंकामा सूचना टाँस गरेको थियो । त्यसपछि गोदामबाट विभिन्न सामग्री नियन्त्रणमा लिएर लगिएको बताइएको छ ।

तर, व्यवसायी साहले आफ्नो गोदाममा भन्सार छली वा चोरी पैठारीका सामान नरहेको दाबी गरेका छन् । उनका अनुसार गोदाममा रहेका अधिकांश सामान नेपालमै उत्पादित हुन् भने विदेशबाट आयात गरिएका सामग्रीको समेत बिल–बिजक तथा भन्सारसम्बन्धी कागजात आफूहरूसँग सुरक्षित रहेको छ ।

‘सबै सामानको बिल–बिजक र भन्सार काटेको कागजात हुँदाहुँदै गोदाममा कोही नभएको मौका छोपेर ताला फुटाएर सामान उठाएर लगियो,’ साहले भने, ‘यो व्यवसायीलाई तर्साउने र मानसिक दबाब दिने काम हो ।’

सञ्चालकको अनुपस्थितिमा गोदाममा खानतलासी गरी सामान नियन्त्रणमा लिएको प्रक्रियाप्रति उनले आपत्ति जनाएका छन् । घटनाले व्यवसायीमा त्रास सिर्जना गरेको भन्दै साहले कारबाहीको प्रक्रिया र नियन्त्रणमा लिइएका सामानको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरेका छन् ।

घटनाप्रति क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरले समेत आपत्ति जनाएको छ । संघका अध्यक्ष सुरेश यादवले व्यवसायी तथा सम्बन्धित सरोकारवालालाई जानकारी नदिई सञ्चालकको अनुपस्थितिमा व्यवसायिक प्रतिष्ठानमा छापा मारिएको भन्दै कानुनी प्रक्रियाको पालना हुनुपर्ने बताएका छन् ।

‘व्यवसायिक प्रतिष्ठानमा खानतलासी वा सामान नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया पूरा गर्नुपर्छ,’ यादवले भने, ‘व्यवसायीलाई जानकारी नै नदिई गरिएको कारबाहीले निजी क्षेत्रलाई त्रसित बनाउने काम गर्छ ।’

क्षीरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष जिवछ मण्डलले समेत आफूले व्यवसायी वा जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छापा नमार्न आग्रह गरेको दाबी गरेका छन् । तर, आफ्नो आग्रहलाई सशस्त्र प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।

मण्डलका अनुसार भन्सार कार्यालयले आफ्नो रोहबरमा छापा मारिएको भन्दै सूचना टाँस गरेको थियो । तर, नियन्त्रणमा लिइएका सामानको विवरण आफूलाई नदेखाइएको उनले बताए । सामानको विवरण नदेखाइएपछि आफूले पछि कुनै कागजातमा सहीछाप नगरेको उनको भनाइ छ ।

यता जनकपुर भन्सार कार्यालयले भने उक्त गोदाममा भएको कारबाही आफ्नो नेतृत्वमा नभएको जनाएको छ । कार्यालयका प्रमुख रमेश नेपालीले सशस्त्र प्रहरीको अगुवाइमा कारबाही भएकाले घटनाबारे आफूहरूलाई विस्तृत जानकारी नभएको बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार