पर्सामा ३० किलो गाँजासहित तीन जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्‍यो


पर्सा । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका–१, मलाही टोलमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई देखेपछि भाग्न खोजेकामध्ये दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । त्यसक्रममा ३० किलो गाँजासहित पटेर्वासुगौली गाउँपालिका बस्ने ५० वर्षीय महेश सहनी र ३४ वर्षीय नन्दलाल सहनी पक्राउ परेका थिए ।

उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा सोही गाउँपालिका बस्ने ७५ वर्षीया भुटी भनिने भुरी चौधरीसमेत गाँजा ओसारपसारमा संलग्न रहेको खुलेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार