मधेश प्रदेशमा सरकारी स्वास्थ्य संस्थाको अवस्था सुधारोन्मुख


जनकपुरधाम । लामो समयदेखि औषधी तथा केमिकल अभावका कारण प्रभावित हुँदै आएका मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थाको सेवा पछिल्लो समय सुधारोन्मुख देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा प्रादेशिक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरूमा औषधी तथा आवश्यक सामग्रीको आपूर्ति सहज भएपछि सर्वसाधारणले स्वास्थ्य सेवा पाउन थालेका छन् ।

केमिकल र औषधी अभावका कारण लामो समयदेखि प्रभावित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पुनः पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न थालेको छ । बोलपत्र प्रक्रियामार्फत औषधी तथा केमिकल खरिद भएपछि प्रयोगशालाले सबै प्रकारका स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा निजी प्रयोगशालाको तुलनामा न्यून शुल्कमा स्वास्थ्य परीक्षण हुने भएपछि सेवाग्राहीको चाप बढेको छ । अहिले दैनिक साढे तीन सयभन्दा बढी सेवाग्राहीले प्रयोगशालाबाट स्वास्थ्य परीक्षण सेवा लिने गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका एक सेवाग्राहीले १ हजार ७ सय रुपैयाँमा ‘फुल बडी’ स्वास्थ्य परीक्षण गराएको र रिपोर्ट लिन आएको बताए । निजी प्रयोगशालाको तुलनामा सरकारी प्रयोगशालामा निकै कम शुल्कमा परीक्षण हुने उनको भनाइ छ ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ १६ गतेसम्म ८ हजार २ सय ५६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सो अवधिमा ३३ हजार ३ सयभन्दा बढी प्रकारका स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई ९० प्रतिशत र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गर्दै आएको छ । निमित्त निर्देशक गुनानन्द साहका अनुसार डेढ महिनाको अवधिमा प्रयोगशालाले ५९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

२०७८ साल कात्तिक १५ गते स्थापना भएको प्रयोगशालाले मधेश प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा सेवा विस्तार गरेको छ । अहिले प्रयोगशालाबाट २ सय ५६ प्रकारका स्वास्थ्य परीक्षण गर्न सकिने निमित्त निर्देशक साहले बताए ।

उनका अनुसार अधिकांश स्थानीय तहका प्रयोगशालामा आवश्यक केमिकल पठाइसकिएको छ भने बाँकी स्थानमा समेत पठाउने तयारी भइरहेको छ । स्थानीय तहको रेखदेखमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ल्याब टेक्निसियन र कार्यालय सहयोगीसहित २ सय ५२ जनाको रोकिएको नौ महिनाको तलबसमेत यसअघि एकमुष्ट भुक्तानी भइसकेको जनाइएको छ ।

यस्तै, मधेश प्रदेश सरकार मातहतका आठवटै जिल्ला प्रादेशिक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरूमा पनि करिब १८ महिनापछि औषधी आपूर्ति सहज भएको छ । औषधी आपूर्ति भएपछि सर्वसाधारणले निःशुल्क औषधी तथा उपचार सेवा पाउन थालेका छन् ।

मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत आर्थिक वर्षको अन्त्यमा १७ करोड रुपैयाँ बराबरको १ सय १२ प्रकारका औषधी खरिद गरेको थियो । केन्द्रका निमित्त निर्देशक उज्ज्वल यादवका अनुसार प्रादेशिक अस्पतालमा ९० देखि १ सय ५ प्रकारसम्म र जिल्ला स्वास्थ्य कार्यालयमा ५० देखि ६० प्रकारसम्मका औषधी आपूर्ति भइरहेको छ ।

केन्द्रमा ६ महिनाभन्दा बढी समयलाई पुग्ने औषधी मौज्दात रहेको यादवको दाबी छ ।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले औषधी आपूर्ति सहज भएसँगै लामो समयपछि प्रादेशिक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सर्वसाधारणले सहज रूपमा स्वास्थ्य उपचार सेवा पाउन थालेको बताए ।

कार्यालय प्रमुखको खटनपटनमा विवाद, औषधी तथा केमिकल खरिदमा विवाद र कर्मचारीसम्बन्धी विषय अदालतसम्म पुग्ने प्रवृत्तिका कारण बजेट हुँदाहुँदै पनि समयमै औषधी तथा केमिकल खरिद हुन नसकेको बताइएको छ । यस्ता विवादका कारण करिब १८ महिनासम्म मधेश प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थाको सेवा प्रभावित भएको थियो ।

पछिल्लो समय खरिद प्रक्रिया अघि बढाएर औषधी तथा केमिकलको आपूर्ति सहज पारिएपछि प्रदेशका सरकारी स्वास्थ्य संस्थाको सेवा क्रमशः सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार