जनकपुरधाम । राष्ट्रिय परिचयपत्र आफ्नै गाउँ–ठाउँमा बनाउन पाउनुपर्ने माग गर्दै केही दिनदेखि आन्दोलन गर्दै आएका धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरका धीरज साह गम्भीर घाइते अवस्थामा फेला परेका छन्।
युवा नेता बीपी साहको साथमा सबैला नगरपालिकाका विभिन्न गाउँ–टोलमा मतदाता परिचयपत्र बनाउँदै हिँडेका तथा राष्ट्रिय परिचयपत्रका लागि धर्ना बस्दै आएका साह आइतबार बिहान गम्भीर घाइते अवस्थामा फेला परेका हुन्।
गम्भीर घाइते साहको टाउकोको एक भागको मासु उप्किएर गम्भीर चोट लागेको बताइएको छ। उनको टाउकोमा जटिल शल्यक्रिया तथा प्लास्टिक सर्जरी गरिएको छ। शरीरका विभिन्न भागमा समेत गम्भीर चोटपटक लागेको जनाइएको छ।
जनकपुरधामस्थित एक अस्पतालमा आइतबारदेखि उपचाररत साहको अवस्था गम्भीर रहेको र हाल आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ।
राष्ट्रिय परिचयपत्र बनाउन गाउँमै सेवा उपलब्ध गराउनुपर्ने माग राख्दै उनी केही दिनदेखि आन्दोलनमा सहभागी हुँदै आएका थिए। साह कसरी घाइते भए भन्ने विषयमा भने थप विवरण सार्वजनिक हुन बाँकी छ।


