जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतका सरकारले कुनै काम नगरेको भन्ने भाष्य गलत भएको बताएका छन्।
पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा पुष्पलाल मित्र केन्द्रले जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै नेपालले कम्युनिष्ट नेतृत्वका सरकारले जनतामुखी तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गरे।
उनका अनुसार विगतमा कम्युनिष्ट सरकारले ६२ हजार सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुका साथै सामाजिक सुरक्षा भत्ता लागू गरेको थियो। विकेन्द्रीकरणको नीति, ‘आफ्नो गाउँ आफैं बनाऔँ’, ‘नौ स’ अभियान तथा जनता आवासजस्ता कार्यक्रम पनि कम्युनिष्ट नेतृत्वकै सरकारले अघि बढाएको उनले बताए।
नेपालले कमैया तथा कमलरी मुक्ति, दलित र मुस्लिमसहित पछाडि परेका समुदायका छोराछोरीलाई निःशुल्क शिक्षालगायतका कार्यक्रम कार्यान्वयन गरिएको उल्लेख गरे। हुलाकी राजमार्ग, काठमाडौं–तराई/मधेश द्रुतमार्ग तथा मदन भण्डारी–आश्रित मध्यपहाडी लोकमार्ग निर्माणको सुरुवातलगायत विकासका महत्वपूर्ण काम कम्युनिष्ट नेतृत्वका सरकारबाट भएको उनको भनाइ थियो।
रसुवामा हालै आएको बाढीको घटनाले मानिसले धनसम्पत्ति साथमा लिएर जान नसक्ने कुरा प्रमाणित गरेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले देशको समृद्धि र विकासका लागि अब इमानदारिताका साथ अघि बढ्नुको विकल्प नरहेको बताए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका मधेश संयोजक महेन्द्र रायले कम्युनिष्ट पार्टीहरू पटक–पटक विभाजित हुँदा कमजोर बनेको बताए। उनले अहिले कम्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको धारणा राखे।
नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले संघीयता र लोकतन्त्रको रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए।
पुष्पलाल मित्र केन्द्रका केन्द्रीय उपाध्यक्ष यदुवंश झाको अध्यक्षतामा भएको कार्यक्रममा वामपन्थी नेताहरू रोशन जनकपुरी, झल्कु यादव, किरण कर्णलगायतले वामपन्थी एकता केवल सत्ता र शक्तिका लागि नभई जनताको जीवन परिवर्तनका लागि हुनुपर्नेमा जोड दिए।


