भोटेकोशी बाढी: ७ हजार ५१४ जनाको उद्धार, ६७५ शव फेला परेको सरकारको विवरण


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको भन्दै सरकारले उद्धार, खोजी, राहत र पुनःस्थापनालाई तीव्र बनाएको जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र साहले शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट शनिबार साँझ साढे ५ बजेसम्म ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जनाको समेत उद्धार भइसकेको सरकारले जनाएको छ।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरले हालसम्म २३६ वटा उडान भरेका छन्। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १८ हजार ७०८ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

सरकारका अनुसार उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा परिचालित छन्। प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धारमा कठिनाइ भइरहेको भन्दै थप हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ।

घाइतेको उपचारका लागि मोबाइल अस्पताल

बाढीबाट उद्धार गरिएका गम्भीर घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको सरकारले जनाएको छ। अन्य घाइतेका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ।

धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल तथा हेली क्षेत्रमा गरी पाँच स्थानबाट स्वास्थ्य सेवा प्रदान भइरहेको छ। घाइते तथा उनीहरूका परिवारका सदस्यलाई मनोपरामर्शसमेत दिइएको सरकारको भनाइ छ।

३ हजार ५०० विस्थापितलाई अस्थायी आवास

बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ।

रसुवामा तीन र नुवाकोटमा १५ वटा शिविर स्थापना गरी प्रभावित नागरिकको व्यवस्थापन भइरहेको छ। शिविरमा संघीय सरकारले राहत सामग्री पठाइरहेको तथा नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लबलगायत स्वयंसेवी संस्थालाई समेत परिचालन गरिएको जनाइएको छ।

राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा

सरकारका अनुसार प्रधानमन्त्री राहत कोषमा शनिबार मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको सरकारले जनाएको छ।

विपद्का नाममा हुन सक्ने आर्थिक ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड तथा ‘प्रधानमन्त्री दैवी प्रकोप कोष’ र ‘प्रधानमन्त्री कोष’को खातामा मात्रै सहयोग गर्न सरकारले आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता

बाढी प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय निकाय तथा मित्रराष्ट्रबाट सहयोगको प्रतिबद्धता आएको सरकारले जनाएको छ।

एडीबीबाट ५ मिलियन अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख डलर र अष्ट्रेलियाबाट १ मिलियन डलर नगद सहयोगको प्रतिबद्धता आएको छ।

भारतबाट तीन चरणमा ५७।५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको सरकारले जनाएको छ।

६७५ शव फेला

सरकारका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ वटा शव फेला परेका छन्।

पहिचान नभएका तथा बेवारिसे शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन भइरहेको जनाइएको छ। पहिचान हुन नसकेका शवको डीएनए लगायतका आधार सुरक्षित राखिने र परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने सरकारले स्पष्ट पारेको छ।

वैकल्पिक सडकबाट रसुवा सडक सञ्जालमा जोडियो

मुख्य सडकमा बाढीले क्षति पुर्‍याएपछि काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको सरकारले जनाएको छ।

यो सडक खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको सरकारको दाबी छ। पृथ्वी राजमार्गको गल्छी–मलेखु १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो हटाएर राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको तथा धादिङबेसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको जनाइएको छ।

सञ्चार सेवा पुनःस्थापित हुँदै

बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। सरकारले इन्धन, सोलार प्यानल र जेनेरेटर हेलिकप्टर तथा सडकमार्गबाट पुर्‍याएर सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर मर्मत भइरहेको सरकारको भनाइ छ।

प्रधानमन्त्री साहले विपद्को कठिन समयमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्था तथा आम नागरिकले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै उद्धार तथा पुनःस्थापनाको काम नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका छन्।

उनले पीडितको जीवनरक्षा र मनोबल बढाउने गरी सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्न आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार