मधेसका मुख्यमन्त्री,मन्त्रीसहित कर्मचारीहरूकाे एक दिनको तलब विपद् व्यवस्थापन कोषमा


जनकपुरधाम । भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मधेस प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

मधेस प्रदेश सरकारको २०८३ साल भदौ १० गते बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको हो। विपद्को समयमा राज्यका पदाधिकारी तथा कर्मचारीले समेत आर्थिक सहयोगमार्फत प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने गरी प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।

सरकारले भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन मधेस प्रदेश सरकारले प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार क्षेत्रलाई समेत सहयोगका लागि अपिल गरेको छ।
विपद्को समयमा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णयले प्रभावित नागरिकको उद्धार तथा राहतमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार