जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीपछि मधेस प्रदेशका ३० जना सम्पर्कविहीन भएका छन् । उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवाका विभिन्न स्थानमा पुगेका आफ्ना परिवारजनसँग सम्पर्क नभएको भन्दै प्रहरीमा निवेदन दर्ता गराएको आधारमा ३० जना सम्पर्कविहीन रहेको पुष्टि भएको हो ।
सर्लाहीबाट बेपत्ता हुनेहरूमा माधव काफ्ले, अनुज काफ्ले, कृष्ण प्रसाद धमला, द्वारिका दंगाल, चिरञ्जीवी खतिवडा, त्रिशुली हाइड्रोपावरमा कार्यरत इन्जिनियर सुनिल कुशवाहा छन् ।
त्यस्तै सप्तरीबाट रसुवामा कार्यरत शिक्षक अजयकुमार यादव र हाईड्रोपावरमा कार्यरत साजन चौधरी सम्पर्कविहीन रहेको आफन्तबाट प्रहरीमा निवेदन परेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजतलासका लागि रसुवा, धादिङ, लगायत प्रभावित जिल्लाका प्रहरी कार्यालयहरुसँगको समन्वयमा काम थालिएको जनाएको छ ।


