कमला नदीमा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेन


सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमास्थित कमला नदीमा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पुल निर्माण लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा तथा हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्न बाध्य छन्।

पुल निर्माण सम्पन्न नहुँदा सिरहा–धनुषाबीच सहज यातायात सञ्चालन हुन सकेको छैन। विशेषगरी वर्षायाममा कमला नदीमा पानीको बहाव बढ्दा नदी वारपार गर्न थप समस्या हुने गरेको छ। पुलको विकल्पमा यात्रुहरूले डुङ्गाको सहारा लिनुपरेको छ।

स्थानीयका अनुसार डुङ्गाबाट नदी पार गर्न एक पटक करिब एक सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ। मोटरसाइकल तथा अन्य सवारीसाधनसमेत डुङ्गाबाटै वारपार गर्नुपर्ने भएकाले यात्रुहरू थप जोखिममा पर्ने गरेका छन्।

वर्षाको समयमा नदीको बहाव तीव्र हुने भएकाले डुङ्गाबाट वारपार गर्दा दुर्घटनाको जोखिमसमेत रहने स्थानीय बताउँछन्। पुल नहुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त खर्च दुवै व्यहोर्नुपरेको छ।

कमला नदीमा पुल निर्माण भएपछि सिरहा, धनुषालगायत मधेसका विभिन्न जिल्लाबीचको यातायात सहज हुने अपेक्षा गरिएको थियो। पुलले हुलाकी राजमार्गलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीयको आवतजावत, व्यापार–व्यवसाय तथा कृषि उपजको ढुवानीमा समेत सहजता ल्याउने विश्वास गरिएको थियो। तर, निर्माणमा भएको निरन्तर ढिलाइका कारण स्थानीयको वर्षौँदेखिको अपेक्षा अझै पूरा हुन सकेको छैन।

पुल नहुँदा आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य आवश्यक सेवा लिन जाने सर्वसाधारणसमेत समस्यामा पर्ने गरेका छन्। स्थानीयले लामो समयदेखि अलपत्र पुल निर्माण तत्काल अघि बढाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।

उनीहरूले विकास आयोजनामा हुने ढिलाइको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको भन्दै पुल निर्माणमा देखिएका समस्या पहिचान गरी जिम्मेवार पक्षलाई जवाफदेही बनाउनुपर्ने माग गरेका छन्।

१५ वर्षदेखि निर्माणाधीन कमला पुल कहिले सम्पन्न हुन्छ भन्ने अन्योल कायमै छ। हुलाकी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सिरहा–धनुषा जोड्ने कमला पुलको निर्माण तत्काल सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार