‘ठूला होटलदेखि अस्पतालसम्मका अतिक्रमण हटाइयोस्’ : सांसद झा


जनकपुरधाम । प्रतिनिधिसभा सदस्य मनिषकुमार झाले जनकपुरधाममा भइरहेको अतिक्रमण हटाउने अभियानमा धनी–गरिब सबैमाथि समान व्यवहार हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा धारणा राख्दै सांसद झाले शनिबारदेखि जनकपुरधाममा डोजर चलाएर अतिक्रमण हटाउने काम भइरहेको उल्लेख गर्दै गरिब तथा कमजोर वर्गलाई मात्रै दुःख दिने र पहुँचवालालाई उन्मुक्ति दिने अवस्था आउन नहुने बताए।

उनले गुठी संस्थानसँग भएको समन्वयअनुसार ठूला होटल, पोखरी मिचेर बनाइएका संरचना, होटलका पार्किङ, अस्पताल तथा अन्य संरचना र निजी व्यक्तिले भाडामा लगाएर आम्दानी गरिरहेका गुठीका जग्गासमेत खाली गराउने प्रक्रिया अघि बढ्ने जानकारी दिए।

सांसद झाका अनुसार यस्ता संरचनाका सम्बन्धमा चाँडै सूचना जारी गरी आवश्यक प्रक्रिया पूरा गरेर गुठी तथा सार्वजनिक जग्गा खाली गराइनेछ।

‘जनकपुरधाम नेपालको सबैभन्दा बढी सार्वजनिक जग्गा भएको ठाउँ हो,’ उनले भने, ‘भोजराज प्रतिवेदनमा करिब ९५० बिघा जग्गा अपचलन, अधिग्रहण तथा दुरुपयोग भएको उल्लेख छ।’

उनले सोही प्रतिवेदनका आधारमा अहिले अतिक्रमण हटाउने अभियान अघि बढिरहेको बताए। संघीय सरकार तथा प्रधानमन्त्रीको विशेष ध्यानका कारण सार्वजनिक जग्गा संरक्षणका लागि भइरहेको कामप्रति जनकपुरधामवासीका तर्फबाट कृतज्ञता व्यक्त गर्दै उनले अभियानलाई निष्पक्ष बनाउन आग्रह गरे।

‘सबैमाथि समान व्यवहार गरियोस्,’ सांसद झाले भने, ‘जनकपुरको अतिक्रमणमा परेको ९५० बिघा जमिन फिर्ता ल्याउने र संरक्षण गर्ने अभियान सफल होस्।’

सांसद झाले सार्वजनिक तथा गुठी जग्गा संरक्षणका लागि सुरु भएको अभियानलाई प्रभावकारी, पारदर्शी र निष्पक्ष रूपमा अघि बढाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार