सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहाका करिब ६ दर्जन सदस्यले पार्टीको पद तथा साधारण सदस्यबाट सामूहिक राजीनामा दिएका छन्।
सखुवानन्कारकट्टी गाउँपालिकाका विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका हुन्।
पार्टीभित्र देखिएको विवाद, जातीय गुटबन्दी, आपसी असहिष्णुता तथा केही शीर्ष नेतृत्व तहबाट हुने दबाब र हस्तक्षेपका कारण पार्टीको मूल उद्देश्य, लोकतान्त्रिक मूल्य–मान्यता तथा संगठनात्मक अनुशासन कमजोर हुँदै गएको उनीहरूको आरोप छ।
यस्तो परिस्थितिमा आफूहरूले स्वतन्त्र रूपमा विचार राख्न तथा निष्पक्ष ढंगले पार्टी निर्माण गर्न कठिन भएको महसुस गरेकाले सामूहिक रूपमा राजीनामा दिनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सखुवानन्कारकट्टी गाउँपालिकाका विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरूले व्यक्तिगत तथा सामूहिक रूपमा विचार–विमर्श गरी अब पार्टीमा पदाधिकारी वा साधारण सदस्यका रूपमा रहन उपयुक्त नदेखिएको भन्दै आइतबारकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।
सामूहिक राजीनामाले सिरहामा जसपा नेपालको स्थानीय संगठनभित्र आन्तरिक विवाद र असन्तुष्टि सतहमा आएको देखिएको छ।


