जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरका स्थानीय बासिन्दाले विद्युत आपूर्तिमा देखिएको समस्याको विरोधमा आइतबार बिहानैदेखि हुलाकी राजमार्ग अवरुद्ध गरेका छन्।
नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रले वर्षौंदेखि सिटी फिडरमार्फत विद्युत आपूर्ति हुँदै आएको कपिलेश्वर क्षेत्रमा केही दिनदेखि ग्रामीण फिडरबाट विद्युत प्रवाह गर्न थालेपछि समस्या बढेको स्थानीयको भनाइ छ। ग्रामीण फिडरमा जोडिएपछि भोल्टेज कम हुने, पटक–पटक विद्युत अवरुद्ध हुने तथा पछिल्लो समय लामो समयसम्म विद्युत आपूर्ति नै नभएको उनीहरूले बताएका छन्।
स्थानीयका अनुसार करिब ४० डिग्री तापक्रममा लगातार विद्युत नहुँदा राति सुत्नसमेत समस्या भएको छ। खानेपानी तथा शौचालयमा पानीको समस्या हुनुका साथै इन्भर्टर र मोबाइलसमेत चार्ज गर्न नपाएको उनीहरूको गुनासो छ।
विद्युत समस्या समाधान गरी तत्काल सिटी फिडरमै विद्युत लाइन जोड्न माग गर्दै स्थानीयले सडकमा प्रदर्शन गरेका हुन्। आन्दोलनकारीहरूले आफ्नो माग तत्काल सम्बोधन नभएसम्म हुलाकी राजमार्ग अवरोधको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।


