सडक बन्यो, तर गाईवस्तु बाँध्ने ठाउँ बन्दा राजविराजका ग्रामीण सडकमा सास्ती


राजविराज । सडक ढलान र कालोपत्रे भएपछि गाउँबस्तीमा आवतजावत सहज हुने अपेक्षा गरिए पनि राजविराज नगरपालिकाका ग्रामीण क्षेत्रमा सडकको दुरुपयोग र अतिक्रमणले समस्या बढाएको छ। सडकको दायाँ–बायाँ मात्र नभई कतिपय ठाउँमा मुख्य सडकखण्डमै गाईभैँसी, बाख्रा तथा पाठापाठी बाँध्न थालेपछि सवारी आवागमन प्रभावित भएको छ।

राजविराज–९ विषहरिया बस्तीको सडकमा यसको प्रत्यक्ष असर देखिन्छ। सडक किनार र सडकसँग जोडिएको क्षेत्रमा गाईभैँसी तथा बाख्रा बाँध्ने, पशुलाई खुवाउन नाद राख्ने र घुर बाल्नेजस्ता गतिविधि भइरहेका छन्। त्यसका कारण सडकको उपयोगी क्षेत्र साँघुरिँदा मोटरसाइकल, साइकल, इ–रिक्सा तथा चारपाङ्ग्रे सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको स्थानीय बताउँछन्।

इ–रिक्सा चालक केशव झाका अनुसार सडक निर्माण भएपछि यात्रालाई सहज भए पनि सडकमा पशु बाँध्ने क्रम बढ्दा सवारी सञ्चालनमा समस्या हुने गरेको छ। उनका अनुसार नगरपालिकाका अन्य ग्रामीण वडाका सडकमा पनि यस्तै अवस्था देखिन्छ।

चारपाङ्ग्रे सवारी चालक वीरेन्द्र यादव सडकमा बाँधिएका पशुका कारण दुर्घटनाको जोखिम बढेको बताउँछन्। “पशु अचानक सडकतर्फ आए दुर्घटना हुन सक्छ। साँघुरो सडकमा अगाडिबाट अर्को सवारी आउँदा पशुका कारण पास हुनसमेत समस्या हुन्छ,” उनले भने।

स्थानीय बलराम यादवका अनुसार सडकमा पशु बाँध्दा दुर्घटनाको जोखिमसँगै दुर्घटनापछि विवादसमेत निम्तिने गरेको छ। सवारीसँग ठोक्किएर पशु घाइते वा मरेमा कतिपय अवस्थामा चालकलाई नै क्षतिपूर्ति दिन दबाब दिने गरिएको उनको भनाइ छ।

स्थानीयका अनुसार सडकमा नाद राख्ने, घुर बाल्ने तथा निर्माण सामग्री र अन्य घरेलु सामान थुपार्ने प्रवृत्तिले पनि सार्वजनिक सडकको क्षेत्र क्रमशः साँघुरिँदै गएको छ। सडक निर्माणका बेला कायम गरिएको चौडाइ पछि स्थानीयले विभिन्न प्रयोजनका लागि प्रयोग गर्न थालेपछि समस्या थपिएको उनीहरूको भनाइ छ।

यता, राजविराज नगरपालिकाले सडक तथा सडकपेटी अतिक्रमण हटाउने कामलाई निरन्तरता दिएको जनाएको छ। नगरपालिकाका योजना शाखा प्रमुख शाखा अधिकृत मनोजकुमार यादवका अनुसार हुलाकी सडकमा रहेका तरकारी हटिया तथा सडकपेटी अतिक्रमण हटाइएको छ।

“सडकपेटी अतिक्रमण हटाउने कार्य जारी छ। हुलाकी सडकमा तरकारी हटिया र अन्य अतिक्रमण हटाएका छौँ। नगरका अन्य वडामा पनि क्रमशः अतिक्रमण हटाउँदै जाने योजना छ,” यादवले भने।

तर, ग्रामीण बस्तीका सडकमा गाईवस्तु बाँध्ने, नाद राख्ने र सडकलाई घरेलु प्रयोजनमा प्रयोग गर्ने कार्य नियन्त्रणका लागि थप प्रभावकारी पहल आवश्यक देखिएको छ। स्थानीयवासीले अतिक्रमण हटाउने अभियानलाई ग्रामीण वडासम्म विस्तार गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग माग गरेका छन्।

सार्वजनिक सडक निर्माण गरेर मात्र आवागमन सुरक्षित नहुने भएकाले त्यसको संरक्षण, अतिक्रमण नियन्त्रण र सडक प्रयोगसम्बन्धी नियमको पालना गराउन स्थानीय तहले प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ। समयमा नियन्त्रण नगरिए ग्रामीण सडक थप साँघुरिँदै दुर्घटनाको जोखिम बढ्न सक्ने स्थानीयको चिन्ता छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार