पूर्वाधार र जनशक्ति अभावले बिरामीलाई सास्ती


जनकपुरधाम । मधेस प्रदेशकै उत्कृष्ट सरकारी अस्पतालमध्ये एक हो, प्रादेशिक अस्पताल जनकपुरधाम । तर, पछिल्लो समय विगतको तुलनामा सुधारिएको स्वरूप पाए पनि सरकारी बेवास्ताकै कारण बिरामीले भने सहजै उपचार सेवा पाउने वातावरण बन्न सकेको छैन । अस्पतालमा १३ वटा विशेषज्ञ सेवा सञ्चालनमा रहे पनि आवश्यक जनशक्ति, भौतिक संरचना, उपकरण तथा बजेटको अभावका कारण सेवा व्यवस्थापनमा समस्या देखिएको छ । आवश्यक स्रोतसाधनको अभावमा अस्पतालले चाहेजस्तो प्रभावकारी सेवा प्रवाह गर्न नसक्दा उपचारका लागि आउने बिरामीले अझै सास्ती खेप्नुपरेको छ ।

संघीयता कार्यान्वयन हुनुअघि जनकपुर अञ्चलकै एक मात्र ठुलो अस्पतालका रूपमा रहेको जनकपुर अञ्चल अस्पताल लामो समयसम्म सरकारी प्राथमिकताबाट टाढा रह्यो । संघीयता आएपछि प्रदेश सरकारको मातहतमा पुगेको अस्पतालको नामसँगै स्वरूपमा पनि परिवर्तन आउन थाल्यो । प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा आएपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पताललाई आफ्नो मातहतमा लिएसँगै अस्पताल पहिलेको तुलनामा थप सुविधासम्पन्न बन्न सफल भयो ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा.जामुन सिंहका अनुसार विगतमा दैनिक ३०० देखि ४०० सम्म बिरामीले ओपिडी सेवा लिने गरेकोमा अहिले दैनिक १ हजार ३०० सम्म बिरामीको ओपिडीमा स्वास्थ्य परीक्षण हुने गरेको छ । तर, सेवा विस्तारसँगै बिरामीको चाप पनि अत्यधिक बढ्दै गएकोले बिरामीले निकै सास्ती खेप्नुपरेको छ । बिरामीले उपचारका लागि सास्ती खेप्नुपरेको विषयमा मेसु सिंहसँग पनि उपयुक्त जवाफ भने छैन । उनले अस्पतालले विगतको तुलनामा सेवा गुणस्तरमा सुधार गर्दै आफ्नै स्रोतसाधनबाट स्वास्थ्यकर्मी थपेर सेवा विस्तार गरिरहेको बताए ।

‘पहिले दैनिक ३०० जनाको जाँच गरिन्थ्यो, अहिले १ हजार २०० जनाको जाँच भइरहेको छ,’ उनले भने, ‘हामीले आफ्नो इमानदारीअनुसार काम गर्दै आएका छौँ । तर, जिल्लामा रहेका अन्य सरकारी अस्पतालमा जानुको सट्टा सबै बिरामी यही अस्पतालमा निर्भर हुन थालेपछि व्यवस्थापनमा चुनौती देखिएको हो ।’ मेसु सिंहका अनुसार धनुषाका विभिन्न स्थानीय तहमा आवश्यक सुविधासहितका अस्पताल सञ्चालनमा रहे पनि सामान्य रुघाखोकीदेखि जटिल प्रकृतिका सबै समस्या लिएर बिरामी प्रादेशिक अस्पतालमै आउने गरेका छन् । सीमित जनशक्ति र भौतिक संरचनाका बीच बिरामीको चाप अत्यधिक बढ्दा अस्पतालमा भिडभाड र सास्तीको अवस्था देखिने गरेको उनले बताए ।

स्थानीय तहमा रहेका अस्पतालले पनि आफ्नो सेवा प्रभावकारी बनाउँदै बिरामीलाई आवश्यकताअनुसार उपचारका लागि समन्वय गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ । सामान्य किसिमको उचार स्थानीय तहबाटै र प्रादेशिक अस्पताललाई विशेषगरी जटिल तथा विशेषज्ञ उपचार आवश्यक पर्ने बिरामीको उपचार गर्ने केन्द्रका रूपमा विकास गर्नसके अस्पतालमा देखिएको चाप र बिरामीले खेप्नुपर्ने सास्ती केही हदसम्म कम गर्न सकिने सिंहको भनाइ छ ।

२०७७ सालमा ऐन निर्माण भई ५ फागुनदेखि सञ्चालनमा आएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ चैत, २०७८ देखि प्रादेशिक अस्पताल जनकपुरधामलाई आफ्नो मातहतमा समावेश गरेको थियो । प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहका अनुसार प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा समावेश गरेपछि अस्पतालमाथि लाग्दै आएको ‘रेफर अस्पताल’को ट्याग हटाउनु पहिलो लक्ष्य थियो । त्यसका लागि जनशक्तिको समस्या समाधान गर्दै शैक्षिक गतिविधिलाई प्राथमिकतामा राखिएको उनले बताए । सोहीअनुसार प्रतिष्ठानले २०७८ जेठदेखि बिएससी नर्सिङ, पब्लिक हेल्थ, ल्याब मेडिसिन तथा बिएएमएसको अध्यापन सुरु गरेको थियो । त्यसैगरी, हाल स्त्रीरोग तथा बालरोग विषयमा स्नातकोत्तर तहको एमडी/एमएससँगै एमबिबीएसको अध्यापन पनि सञ्चालनमा ल्याइएको साहले बताए ।

उनका अनुसार यसअघि १०० शय्या सरकार र १०० शय्या विकास समिति गरी २०० शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई २०८१ देखि ३०० शय्यामा स्तरोन्नति गरिएको छ । तर, बिरामीको बढ्दो चापका कारण हाल करिब ३५० शय्या सञ्चालन गर्नुपरेको छ । आगामी ६ महिनाभित्र थप १०० शय्या सञ्चालन गर्ने लक्ष्य प्रतिष्ठानले लिएको उनले बताए । उपकुलपति साहले जनकपुरधामको मणिमण्डप क्षेत्रमा ३० वर्षका लागि जग्गा लिजमा लिएर त्यहाँ औपचारिक कलेज सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । आगामी १ वर्षभित्र कलेज सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउँदै उनले त्यसपछि अस्पतालमा देखिएको बिरामीको चाप केही कम हुने र प्रादेशिक अस्पतालमाथि लाग्दै आएको ‘रेफर अस्पताल’को ठप्पा पनि क्रमशः हट्ने विश्वास व्यक्त गरे ।

अस्पतालमा विभिन्न विशेषज्ञ सेवा तथा सुविधा विस्तार हुँदाहुँदै पनि बिरामीलाई अन्यत्र रेफर गर्ने क्रम जारी रहेको विषयमा साहले प्रतिष्ठान स्थापना भएको ४–५ वर्ष मात्र भएकाले सबै संरचना र सेवा एकैपटक पूर्ण रूपमा विस्तार गर्न नसकिएको बताए । ‘प्रतिष्ठान स्थापना भएको ४–५ वर्ष मात्रै भएको छ । हामी निरन्तर लागिपरेका छौँ,’ उनले भने, ‘आवश्यक जनशक्ति, पूर्वाधार र विशेषज्ञ सेवा थप्दै छिट्टै रेफर गर्नुपर्ने अवस्थाबाट मुक्त हुने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार तथा जाँच प्रक्रियाको गुणस्तरमा विगतको तुलनामा ४ गुणासम्म सुधार भएको अस्पतालको दाबी छ । अस्पतालले हाल ४२ प्रकारका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अनुसार १२० जना चिकित्सक कार्यरत छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा.रामनरेश पण्डितका अनुसार अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले दिनरात बिरामीलाई सेवा दिँदै आए पनि बिरामीको चाप भने घट्न सकेको छैन । सीमित जनशक्ति र संरचनाका बीच अत्यधिक बिरामीको चाप व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको उनले बताए । उनले सरकारी तहबाट अस्पतालप्रति अझै पनि हेपाहा प्रवृत्ति कायम रहेको गुनासो गरे । ‘धन्न प्रदेश सरकारले प्रादेशिक अस्पतालको इज्जत बचाएको छ । संघीय सरकारकै मुख ताक्नुपरेको भए अस्पतालको अवस्था झनै दयनीय हुने थियो,’ उनले भने ।

डा.पण्डितका अनुसार काठमाडौँलगायत पहाडी जिल्लामा करिब ६ हजार शय्या सञ्चालनमा रहे पनि मधेस प्रदेशमा विकास समितिसमेत जोड्दा करिब १ हजार २०० शय्या मात्र सञ्चालनमा छन् । सरकारी दरबन्दीअन्तर्गत मधेस प्रदेशका विभिन्न अस्पतालमा करिब ६०० शय्या मात्रै रहेको उनले बताए । उनका अनुसार राजविराजमा ५०, लहान र सिरहामा क्रमशः ५० र १५ गरी ६५, जलेश्वरमा १५, जनकपुरधाममा १००, मलंगवामा ५०, गौरमा ५०, कलैयामा ५० र वीरगन्जमा १५० शय्या सरकारी तवरबाट सञ्चालनमा छन् । विकास समिति तथा अन्य व्यवस्थापनबाट थप शय्या सञ्चालन गरिए पनि प्रदेशको जनसंख्याको तुलनामा यो संख्या पर्याप्त नभएको उनको भनाइ छ ।

‘यति थोरै शय्याबाट कसरी सबै बिरामीलाई सहज उपचार सेवा दिन सम्भव हुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रत्येक १ हजार जनसंख्याका लागि ४ शय्या र आवश्यक चिकित्सक हुनुपर्ने भए पनि यहाँ त्यसअनुसारको व्यवस्था छैन ।’ अस्पतालहरूमा पूर्ण दरबन्दी नहुनु, आवश्यक जनशक्ति तथा पूर्वाधारको अभाव हुनु र बिरामीको चाप निरन्तर बढ्दै जानुले स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको उनले बताए । जनतालाई उपचारका क्रममा हुने सास्ती कम गर्न संघ र प्रदेश सरकारले अस्पतालको क्षमता, जनशक्ति तथा शय्या विस्तारमा विशेष ध्यान दिनुपर्नेमा डा.पण्डितले जोड दिए ।

यति हुँदाहुँदै पनि प्रादेशिक अस्पताल जनकपुरधाम शय्या संख्याका हिसाबले मधेस प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पतालका रूपमा रहेको छ । अस्पतालले पछिल्लो समय विशेषज्ञ तथा सुपर स्पेसियालिटी सेवासमेत विस्तार गर्दै लगेको छ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार प्रादेशिक अस्पतालमा हृदयघातका बिरामीको एन्जियोप्लास्टी सहितको उपचार सेवा, प्रदेशमै सबैभन्दा ठुलो डायलाइसिस सेवा, सबैभन्दा बढी मिर्गौला विशेषज्ञ, सुपर स्पेसियलिटी सेवा तथा प्लास्टिक सर्जरी सेवा सञ्चालनमा ल्याइएको छ । यस्ता विशेषज्ञ सेवा विस्तारसँगै जटिल रोगका बिरामीलाई प्रदेशमै उपचार उपलब्ध गराउने प्रयास भइरहेको प्रतिष्ठानको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा.जामुन सिंहका अनुसार प्रदेश सरकारले विगत ३ वर्षदेखि आफ्नो नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताललाई ५०० शय्यामा विस्तार गर्ने घोषणा गर्दै आए पनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन । उनले अब घोषणालाई व्यवहारमै कार्यान्वयन गरी अस्पतालको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । ‘५०० शय्याको अस्पताल बनाउन आवश्यक भवन निर्माण, अत्याधुनिक उपकरण, पर्याप्त जनशक्ति तथा नेपाल सरकारको मापदण्डअनुसार सञ्चालन खर्च उपलब्ध गराइए प्रादेशिक अस्पताललाई देशकै उत्कृष्ट सरकारी अस्पतालका रूपमा विकास गर्न सकिन्छ,’ डा. सिंहले भने ।

उनका अनुसार बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न अस्पतालको शय्या संख्या विस्तारसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नु, अत्याधुनिक उपकरण उपलब्ध गराउनु र भौतिक पूर्वाधार विकास गर्नु अपरिहार्य छ । अहिले उपलब्ध स्रोतसाधनको तुलनामा बिरामीको संख्या अत्यधिक रहेकाले अस्पतालको सेवा विस्तार र क्षमता वृद्धि अब विकल्प नभई आवश्यकता बनिसकेको उनले बताए ।

प्रादेशिक अस्पताललाई ५०० शय्यामा विस्तार गर्नसके मधेस प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने तथा जटिल उपचारका लागि काठमाडौँलगायत अन्य ठुला सहरमा जानुपर्ने बाध्यतासमेत कम गर्न सकिने अस्पताल प्रशासनको अपेक्षा छ । अस्पतालमा विशेषज्ञ तथा सुपर स्पेसियालिटी सेवा विस्तार हुँदै गए पनि त्यसअनुसार पूर्वाधार र जनशक्ति व्यवस्थापन हुन नसके सेवा प्रवाहमा थप दबाब पर्ने भएकाले प्रदेश तथा संघीय सरकारले दीर्घकालीन योजनासहित लगानी बढाउनुपर्ने सरोकारवालाहरूको जोड छ ।सौर्य दैनिकबाट

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार