जनकपुरधाम : धनुषाको एउटै वडाका दुई जना विद्यार्थी क्याम्ब्रिज इन्टरनेशनल ए लेभल परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित “क्याम्ब्रिज उत्कृष्ट शिक्षार्थी पुरस्कार”बाट सम्मानित भएका छन्।
औरही गाउँपालिका वडा नम्बर २, परबाहाका आशिष मिश्र र सोही गाउँपालिका देउरीका अभिषेक यादवलाई सन २०२४ को क्याम्ब्रिज इन्टरनेशनल ए लेभल परीक्षामा नेपालमै सर्वाधिक अंक ल्याउन सफल भएको आधारमा सम्मान गरिएको हो। आशिष मिश्रले केमिस्ट्री विषयमा र अभिषेक यादवले फिजिक्स विषयमा नेपालभरमै सबैभन्दा बढी अंक प्राप्त गरेका थिए।
ब्रिटिश काउन्सिलले मंगलबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उनीहरूलाई उक्त पुरस्कार प्रदान गरेको हो। क्याम्ब्रिज इन्टरनेशनल ए लेभल कार्यक्रम हाल नेपालसहित विश्वका १०६ देशमा सञ्चालन हुँदै आएको छ।
यसअघि पनि आशिष मिश्रले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन्। सन् २०२५ अप्रिल २१ देखि २६ तारिखसम्म तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी भई मिश्रले कास्य पदक जित्न सफल भएका थिए। उक्त प्रतियोगितामा नेपाली विद्यार्थीको सहभागिता पहिलो पटक रहेको थियो।

त्यसैगरी, उनले सन् २०२५ जुलाई ९ देखि २१ सम्म अष्ट्रेलियामा आयोजित ६६औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा समेत सहभागिता जनाएका थिए।
शैक्षिक क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका मिश्रले अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित होवार्ड विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति समेत प्राप्त गर्न सफल भएका छन्।
धनुषाका यी दुई प्रतिभाशाली विद्यार्थीको उपलब्धिले जिल्लासहित सम्पूर्ण देशको शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको छ।



