नाट्यकर्मलाई पछ्याउँदै परवाहा


नित्यानन्द मण्डल
कुरा २०८० मङ्सिर ९ गतेको हो । ६० नेटो काटिसकेका रामरेखा पण्डितलाई भने कलाकारहरुको मुखाकृति सज्जिसजाउ, मेकअप, मञ्च व्यवस्थापन कार्य भ्याईनभ्याई थियो । चिसो रातमा खुल्ला अकाशमुनि भूँईमै मज्जाले नाटक रसास्वादन गर्नका लागि बौकादासले खेतमा दाइ गरिएका पराल मञ्च परिसरमा ओछ्यारहेका थिए, दर्शकलाई बस्नकालागि कुनै असुविधा नहोस् भनेर ।
गाउँकै दक्षिणमा रहेको दुर्गा मन्दिर परिसरमा अतिथिहरुका लागि भोजन तथा आवासकालागि साथीहरुको सहयोगमा व्यवस्थापनमा जुटेका थिए, सुजित मिश्र । एण्डको घन्किँदै थियो । राति नाटक मञ्चन हुने उद्घोष माइकमा भइरहेको थियो ।
रतियादेवी खेतबारीको काम सकालै सकेर घर फर्किएकी थिइन् । अरुदिनभन्दा चाँडै घर फर्किएकी उनी सम्साँझै धमाधम भान्सामा लागेकी थिइन् । आफूसँगै घरका अन्यसदस्यहरुलाई खुवाई बस्नलाई काँखमा बोरा च्यापी उनी मञ्चतिर लम्ँिकदै थिइन् ।
यस्तै, गाउँ नजिकै रहेको परवाहा हाटमा किनमेल गरी घर फर्र्किएका सौखी दास खाना खान हतारिएका थिए ।
यसरी माइकका आवाज सुनेर गाउँभन्दा बाहिर गएकाहरु हतारहतार घर फर्किरहेका थिए । साँझ छिप्पिदैथ्यो, रात बाक्लिँदैथ्यो । चुल्होचोका, घरआँगन, खेतबारी, बाधवोन, खेतपथार, चौरी चाँचर, दुरादलानमा व्यस्त रहने के महिला, के पुरुष, के यूवा, के वृद्धवृद्धा सबैमा चस्का र चटारो थियो । यसको एउटै कारण थियो – गाउँमा मैथिली नाटक मञ्चन हुँदैथ्यो, नाटक हेर्नकालागि सबैमा बेग्लै खालको सनक, नाट्य र कलाकरप्रति फिँदा । हेर्दा लाग्दथ्यो –सिंगो गाउँ नै नाट्यप्रस्तुतिको माहौलमा च्वास्सै डुबेको थियो ।


जनकपुर रेल्वेको नाउँ सुन्नेले परबाहा स्टेशन पनि सुनेकै हुनुपर्छ । जनकपुरभन्दा पूर्व ५ किलोमिटर परको दुरीमा छ, त्यो स्टेशन । हो, त्यहीँ स्टेशन छेउमै छ, परवाहा गाउँ । हो, यहीँ गाउँ नाट्य उत्सवमा रङ्गीएको थियो ।
जुन गाउँ असारमा भ्यागुतो ट्वार्र–ट्वार्र कराएदेखि दशैंको ढोल नबजुञ्जेलसम्म आतङ्कित हुन्थ्यो, बाढीको भेलले रेल नबगाउञ्जेलसम्म । जनजीवन अस्तव्यस्त हुन्थ्यो, गाउँ पूरै टापूमा परिणत । चारैतिर पानी नै पानी । तर, हिजोआज सुख्खा छ । रेल पनि नयाँ छ, हुलाकीबाटोको पक्की सडकले गाउँको मुटुलाई नै च्वास्स छोएको छ । टेम्पु र बसले पनि गाउँको धडकन छामेको छ । पहिलाभन्दा अहिले जीवन सहज छ ।
त्यहीँ गाउँमा २०३९ सालमा खुल्यो यूवानाट्यकला परिषद्, जो उत्साही रङ्गकर्मीहरुले भरिभराउ थियो । परिषद्को उद्देश्य थियो – नाट्यकलाको माध्यमले मैथिली भाषा, साहित्य, संस्कृति तथा कलाको संस्थागत सम्बद्र्धन एवं प्रवद्र्धन । पञ्चायतको कडा पहरा । नाटक प्रदर्शन गर्न त्यतिबेलाका अञ्चलाधिशसँग स्वीकृति लिनुपर्ने बाध्यता । साना किसानहरुको बाहुल्यता भएको गाउँमा के हुन्थ्यो पुस्तकालय ? आङ्गनदेखि दलानसम्म अन्न, पराल र दाउराका थुम्को पो हुन्थ्यो । तैंपनि नाटक प्रदर्शन गर्ने उत्तिकै जोश, उमङ्ग अनि चञ्चलता यूवाहरुमा लवालव भरिभराउ हुन्थ्यो ।
नाट्य प्रस्तुति, संस्कृति र अभ्यास
दशैंदेखि छठपर्वसम्म कम्तीमा दुई वा तीन पटक नाटक मञ्चन हुने गर्दथ्यो यहाँ । नाटक प्रदर्शनका नजिकै रहेका जनकपुरधाम सहर र सीमावर्ती भारतीय बजार जयनगरको भर पर्नु पर्दथ्यो । नाट्यप्रदर्शनका लागि नाटकका किताब, स्क्रीप्ट प्रमुख तत्व अनि निर्देशन तथा दुनियाँका कुरा । किताब खोज्न कि त जनकपुरधामको रेल्वे स्टेशन स्थित राजेन्द्र बुकस्टाँल कि योगेन्द्र साह नेपालीका जानकी पुस्तक भण्डार वा उनी नै अध्यक्ष रहेका जनकचोक स्थित मिथिलानाट्यकला परिषद्को कार्यालयमा पुग्नु पर्दथ्यो वा सीमापारिका मैथिली नाटककारहरुको किताब खोज्न जयनगर जानु पर्दथ्यो । धेरैभन्दा धेरै नाटकका किताब छापिएका हुँदैन्थ्यो । त्यसैले लेखकले लेखैकै पाण्डुलिपिको आधारमा कलाकारहरुको भूमिका अनुसार काँपीमा संवाद लेखिन्थ्यो । प्रिन्टर, फोटोकाँपी मेशिन थिएन, टाइपराइटर थियो, तर टाइप गराउने पैसा चाहिँ हुँदैन्थ्यो । फोटा खिच्न पनि ३६ वटा रिल भएका आशिका एमएफ २ मात्र एक सहारा हुन्थ्यो । कलाकारहरुमा आफ्ना फोटा हेर्न लुछाचुँड हुन्थ्यो ।
मैथिली नाटक त्यो पनि गाउँमै गर्नुपर्ने परम्परा । यसका लागि पहिले लालटेन टुकी बालेर सबैलाई फुर्सद भएकाबेला अबेर साँझसम्म पूर्वाभ्यास (रिहर्सल) । प्रदर्शनको दिन नजिकिँदै गएपछि घरघर पुगेर कलाकारलाई पूर्वाभ्यासका लागि बोलाउनुपर्ने बेथिति, गाउँको ठूलाबडादेखि सर्वसाधारणसम्म पनि चन्दाको जोहो । प्रदर्शनका दिन स्टेजका लागि खुट्टाखम्हनी गाड्ने कडा परिश्रम । दर्शक बोलाउन साँझैदेखि अहुजा कम्पनीको लाउडीस्पीकर घन्किने, पेट्रोम्यास बालेर, स्टेज कभर हुनेगरी एउटै माइकले नाटक मञ्चन, त्यो पनि खुल्ला अकाशमुनि ।
मञ्चको मुखमा दुइटा सिंढी, बाँस गाड्नुपर्ने, घरघरबाट काँधमा बोकेर सुत्नेखाँट (चौकी) स्टेजका लागि ल्याउनु, चनमा टाँग्नु,फेरि पर्दा टाँग्नु, मेकअपका लागि मुर्दाशंख नभए घरकै लिपिस्टिक, स्नो पाउडर, पुरुषले नै महिलाको भूमिका गर्दा पोशाकमा ब्लाउज र ब्रा खोज्न पनि झन्झट, घरको दृश्य देखाउन पिंढी, खरबाँस, बती, अनि बारीमा भएका घिरौला, लौका र फर्सीका लत्तीफत्ती, टुकी (डिविया), गुन्द्री (चटाई) आदिको व्यवस्थापन । यसरी स्टेजक्राप्ट गर्न पनि कम्ती जोखिम हुँदैन्थ्यो ।
स्टेजमा तयार भएमा एउटा कुनामा हारमुनियम, ढोलक, झ्याल, बाँसुरी बजाउने बजनियाँहरुले आआफ्ना सुर कस्थे । दर्शक पनि कम्ती होइनन्, कसैको हातमा गुन्द्री, त कसैको हातमा पराल, यिनीहरुमै बसेर खुल्ला अकाशमुनि मध्यरातसम्म नाटकको आनन्द लिने गर्दथे । त्यसैले, नाटक गर्ने उत्तिकै झन्झटिलो । दर्शकहरुले बस्नका लागि पराललाई लिएर झिनाझप्टी, परालधनीसँग विवाद, त्यसलाई साम्य गर्नुपर्ने आयोजकको चुनौती कम्ती हुँदैन्थ्यो ।
यसरी नै हुनेगर्दथ्यो परवाहामा नाटक । तर, अहिले समय बदलिएको छ । रङ्गमञ्चमा दैनिक नौलो प्रयोग तथा अभ्यास भइरहेकोबेला यिनीहरुमा परिवर्तन देखिनु अस्वाभाविक होइन । जिम्मेवारी पनि थपिएको छ, युनापमा ।
गाउँ–गाउँमा हुने नाटक मञ्चन बन्दप्रायः भइसके । सहरमै पनि नाटक प्रदर्शनको अवस्था सुस्त देखिन्छ । ‘नाटक हुने भनेकै उत्सव र महोत्सवहरूमा हो,’ ‘मैथिली नाटककालागि दर्शकको अभाव नरहेको ठोकुवा गर्छन, युनापका अध्यक्ष अनिल मिश्र । ‘कलाकारकै सहयोगमा खुला मञ्च र विनापूर्वाधार नाटक मञ्चन गर्दा पनि दर्शकको ओइरो लाग्ने गर्दथ्यो । मैथिली नाटकमा दर्शक बटुल्न गाह्रो छैन । दर्शकको रुचि, समकालीन विषयवस्तु, आधारभूत भौतिक संरचना, व्यवस्थापकीय कुशलतासहित नाट्य समूह तयार पार्नसके मैथिली नाटकले मध्यकालीन उचाइ पाउन सक्ने अध्यक्ष मिश्र बताउँछन् ।
नाटक मञ्चन भइरहँदा भिड सम्हाल्न आयोजकलाई हम्मेहम्मे पर्दथ्यो । नाटकका एक से एक पारखीहरू थिए, जो आफ्नै लगानीमा नाटक प्रदर्शन गर्न लगाउँथे । रातभर जाग्राम बसेर हेर्नेहरूको उत्सुकता उत्तिकै हुन्थ्यो । कुनै बेला मिथिला क्षेत्रमा मञ्चित मैथिली नाटकको रस यसरी बसेको थियो

आर्थिक असुरक्षा र अवसर
चाडबाड, उत्सवको अवसर पारेर वा बेमौसममा समेत यहाँ नाटक गरिरहनुपर्ने स्थानीयको माग । यसका लागि कति रङ्गकर्मी रेल चढेर त कति साईकिल चढेर जनकपुर दिनहुँ हानिन्थे । सोझै मिथिला नाट्यकला परिषद्, जनकपुरका पाका कलाकारहरुको सम्पर्कमा ठोकिन्थे ।
नाटकमा कमाई छैन, सबैलाई थाहा भएकै कुरा हो । जनकपुरमा बस्न, खान गाह्रो । घरबेटीको कचकच । अकासिँदो महँगी । पैसा विना त सहरमा साँस फेर्न पनि मुश्किल । त्यसैले अबेर राति भएपनि साईकिल वा हिँडेर पनि परबाहा पुग्नुपर्ने नियति । रेलको कुनै ठेगान हुँदेन्थ्यो । बर्खाकाबेला गाउँ टापूमा परिणत भएकाले जनकपुरीया रङ्गकर्मी साथीहरुको घरडेरामा बास बस्नुपर्ने विवशता ।
नाटकसँगै बाँच्ने सपना बोकेर जनकपुर पसेका धेरै रङ्गकर्मी यिनै समस्यादेखि अत्तालिएर पलायन भए । कतिले पेशा नै बदले । कति गाउँ–सहर नै छाडे । भुख र बेकारीसँगै जुध्दै अवसर तथा कामको खोजीमा महानगर काठमाण्डौ, भारत र खाँडीसम्म पुगे । कति अहिलेपनि आर्थिक मार खेपिरहेका छन् ।
जसले पेशा बदलेनन्, जसले सहर छाडेनन्, अनेकौं कष्ट र हण्डरका बाबजुद सपनालाई पछ्याउन छाडेनन्, उनीहरु चम्किए । गणतान्त्रिक मुलुकमा पहिलोपटक स्थापित नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ बने परवाहाका रमेश रञ्जन । रञ्जनकी छोरी प्रियंका झा, ज्वाई रवीन्द्र झा, गाउँलेहरु विष्णुकान्त मिश्र, विनोदानन्द मिश्र, सञ्जय मिश्र, अनिल मिश्र लगायतका आधा दर्जन रङ्गकर्मी स्थापित भए ।
रामरेखा पण्डितको निर्देशनमा एउटा सिंगो गाउँले एक दर्जनभन्दा बढि रङ्गकर्मी त जन्मायो, तर त्यसको उचित व्यवस्थापन गर्न सकेन ।
दर्शकका विश्वास जित्न सजिलो नभएको बताउँदै दुई दशक लामो अनुभव बटुलेका विष्णुकान्त मिश्र भन्छन्, ‘प्रविधिले सिनेमाको बजार त्यति ठूलो बनाइदियो, त्यसका अगाडि नाटकका दर्शक ज्यादै कम भएका छन । जति ठूलो बजार, उति धेरै चल्यो । खाँटी इलेक्ट्रोनिक्स मिडिया, युटयुव लगायतका सामाजिक सञ्जालका दिनानूदिन बढ्दो प्रयोग तथा द्रुत विकासले नाटक नै धरापमा प–यो ।’
वास्तविक अभिनयको स्वाद, सन्तुष्टि र आनन्द चाहिँ नाटकमै छ, प्रियंका झा थप्छन्, ‘दर्शकसँग प्रत्यक्ष सम्बन्ध र संवाद हुन्छ । प्रतिक्रिया पनि तत्कालै पाइन्छ ।’
नाटकमा समुद्र मन्थन जस्तै जटिल प्रक्रिया पार गर्नुपर्छ । अनिमात्रै मोती पाउन सकिन्छ वा अन्य श्रेष्ठतम बस्तु । कहिलेकाहिँ विषको घैंटो पनि स्वीकार गर्नुपर्ने हुन्छ । कतिपयले नीलकंठ भएर विषपान पनि गरेका छन् । यस क्षेत्रका रङ्गकर्मी भनेको ती नीलकंठहरुको समूह हो जो आफ्नो जीवनलाई विषमा डुबाएर नाटकका लागि अमृत छाड्ने ।
नाट्यलेखनमा मात्रै होइन, प्रस्तुति र अभिनय समेतमा नयाँ प्रयोग भइरहेकोबेला पुरातन अवधारणालाई त्याग्दै यस नाटकले विश्व समकालिन रङ्गमञ्च समक्ष मैथिली नाट्यजगतलाई उभ्याउन प्रयास गरेको छ, जुन साराहनीय छ ।
यद्यपि, परवाहाका रङ्गमञ्च परिपक्व भएर कहिल्यै अघि बढ्न सकेन । यसमा जोश र चञ्चलता थियो, गम्भीरता थिएन । सोख, देखासिकी र अभिलाषाले मानिस कलाक्षेत्रमा आए । त्यसले गर्दा रङ्ग गतिविधिमा तीव्रता आयो, जसले नाटकको मात्रै बृद्धि भयो, स्तरियताले चरमोत्कर्ष चुम्न सकेन ।
प्रदर्शनमा व्यापक दर्शकको सहभागिता हुँदै आएको हो । यो भनेको केही नाटकका लागि मात्रै पनि होइन, नाटक प्रदर्शन हुने भन्नेबित्तिकै अनपेक्षित दर्शक परवाहाको परिचय नै बनिसकेको हो । नाटकमा भाषा, कथ्य, शिल्प र परम्परागत शैली तथा भाषाप्रेमको शक्तिका कारण दर्शकको माया नाटकले पाएको हो ।
परवाहा जस्तै धनुषाको बभनगामा,परवाहा, बघचौडा, गंगुली, नगराईन, खजुरी, कुम्हरौडा, बहुअर्वा, नौवाखोर प्रसाही र महोत्तरीको सुगा आदि स्थानमा बर्षेनि नाटक मञ्चन हुँदै आएको थियो तर केहिवर्ष यतादेखि यसमा हस आएको पाइन्छ ।
नाटक छुतहा घैल
२०८० मङ्सिर ९ गते, यूवानाट्यकला परिषद्, परवाहा(युनाप)ले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा महेन्द्र मलंगिया लिखित एवं रामरेखा पण्डित निर्देशित नाटक‘छुतहा घैल’ परवाहामा प्रदर्शन ग–यो ।
नाटक ’छुतहा घैल’ले चाहिँ ६ सय वर्ष पुरानो मिथिला समाजको मिथक पस्केको थियो । मिथिला लोककथाका चर्चित पात्र गोनु झाको सन्दर्भ मार्फत् पुरानो समाजको न्यायिक परिपाटी उधिन्न खोजेको नाटकको प्रस्तुति पनि मनछुने थियो ।
नाटकले मिथिला नारीको सशक्तिकरण, समाजमा रहेको टुना–मुना,गोनु झाको चातुर्यता आदि बिषयमा आफ्नो कला पस्केर दर्शकलाई लगभग अढाई घण्टा मनोरञ्जनका साथसाथै सामाजिक रुपले सचेत पनि गराएको थियो । यो नाटकले मिथिला राज्यमा आएको फुटसँगै दुई राज्यका राजा काका भजिताको द्वन्द्वलाई पनि प्रस्तुत ग–यो ।
धुर्त चरित्रका गोनु झाले नारी मूक्तिकालागि गरेको योगदान र चतु–याईमा यो नाटक केन्द्रित थियो । स्थानीय संस्कृति, भाषा, भेषभुषाका कारण नाटकले मिथिला समाजको झझल्को दिएको महसुस हुन्थ्यो । गोनु झाको पालादेखि अहिले सम्म पनि मिथिला समाजमा नारीको मनोदैहिक शोषण हुने गरेको प्रसङ्ग यो नाटकमा उठाइएको थियो ।
यो नाटक मिथिलाको प्रचलित लोककथाका प्रणेता गोनुझाका कथामा आधारित छ । हास्य प्रधान नाटक छुतहा घैलमा नाटककार मलंगियाले समाजमा महिलाको स्थितिलाई केन्द्रमा राखेका हुन् । उनको संवाद तेवर यस नाटकमा पनि व्याप्त छ । नाटकमा पर्याप्त लोकोक्ति प्रयोग गरिएको छ । उनको नाटकको खूवी तीक्ष्ण र साना साना संवाद हुन्छ । उनको यो विशेषता नै नाटकलाई सर्वप्रिय बनाइदिन्छ । अर्काकुरा प्रशिक्षित अभिनेतालाई पनि अनुशासित भएर बढिभन्दा बढि अभ्यास गरिरहनु पर्दछ, जो यस प्रस्तुतिमा पनि देखियो ।
स्त्री विमर्शमा आधारित यस नाटकमा समाजमा नारीको महत्वपूर्ण भूमिका भएपनि तिनलाई भोग्याको रुपमा हेर्ने गरिएको बताइन्छ । नाटकका मुख्य पात्रमा मिथिलाका लोककथामा अतुल्य बुद्धिक सम्पन्न व्यक्तित्व गोनू झालाई प्रयोग गरेर उनको बुद्धिमताको प्रमाण दिँदै नाटककार मलंगियाले यो साबित गरे जो स्त्री आफ्नो अधिकार लिनबाट समेत वञ्चित छन् ।
त्यसैले गोनू झा उनीलाई सीधाबाटोबाट भटकाएर त्योबाटोमा लगे जहाँ नारीलाई आफ्नो वास्तविक अधिकारका आभास भयो । साथै, मूल मन्त्र समेत दिए जो नारीलाई आफ्नो मर्यादामा रहेर अडान, लडने र मर्ने जस्तो बाटोमा हिँड्यो भने मूक्ति पाउन सकिन्छ र स्वतन्त्रतापूर्वक साँस लिन पाउने छन् । अभिनेताहरु बीचको सटीक संक्षिप्त वार्तालापले प्रमाणित गर्याे जो कलाकारहरुले समर्पित भएर पूर्वाभ्यास गरेका थिए ।
सामाजिक संरचनाभित्रका वर्गीय द्वन्द्व, जातीय द्वन्द्व, लैंगिक द्वन्द्व, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याबाट उत्पन्न अवस्थालाई नाट्यरूप दिने मलंगियाको विशिष्टता नै छ ।
उनी लोक विम्ब र जीवनशैलीलाई निकै सुन्दर ढंगले आधुनिक अभिव्यक्ति दिन्छन् । उनको नाटकमा पनि कथानकता निकै बलियो हुन्छ । शब्द चयन र वाक्य गठन खँदिलो हुन्छ । उनले धेरै नाटक लेखेका छन् । दर्शकले त्यस समाजले भोगेको आफ्नो भययुक्त कालखण्डसँग सजिलै जोड्न सक्नेछन् । किनभने सबै समाज उसरी नै द्वन्द्वबाट गुज्रिएका छन् । मानवता र प्रेमको सङ्कट हरेक समाजको आजको नियति हो ।
नाट्यस्थल दर्शकहरुले खचाखच भरिएको थियो । नाटकका एक–एक दृश्य, एक–एक संवाद त्यति नै रोचक थियो जो दर्शक लाई पटकपटक ताली बजाउनलाई बाध्य गर्दथ्यो । नाटकका बीच–बीचमा नट र नटीद्वारा हास्यव्यङ्ग्य आ करुण वाद–संवाद नाटकक रोचकतामा थप तालमेल बढायो ।
थोरै समकालीन, थोरबहुत उच्चस्तरिय र परिपक्व कलाकारहरुले दर्शकको ध्यानाकृष्ट ग–यो । केहि कलाकारहरुमा उत्साह र ऊर्जा पनि थपियो । विगतमा हुने गरिएको मञ्चमा देखिने पुराना कलाकारहरु त्यति देखिएनन् । पृथक स्वादमा नयाँ अनुहारहरुको सिर्जनात्मक शिल्पले विश्व रङ्गमञ्च सामू आफूलाई उभ्याउने प्रयास गरे । समग्रतामा शारीरिक भाषा, ध्वनी र प्रकाशको संयोजन तथा तकनीकी भरिपूर्ण नाटकमा पनि देखियो ।
लोक कथामा आधारित कथ्य नै यो नाटकको सबभन्दा महत्वपूर्ण पक्ष रह्यो । सांस्कृतिक परम्परा, सांस्कृतिक लोकपथ खोज्नु नाट्यकर्मीहरुको धर्म हो । तर, ती समकालीन राजनीतिक घटनाक्रम र लोकपात्र तथा मिथकलाई पूर्नउत्थान गर्नुभन्दा समकालीन पीडा, संघर्ष तथा छटपटी, हास्य–रोदन, र जीवनजगतका विविध आयामलाई पूर्नअविष्कार र संयोजन गर्नु नै कलात्मक सौन्दर्य भएको प्राज्ञ रमेश रञ्जन बताउँछन् । रङ्गकमीहरु माझ सिर्जनात्मक सचेतना पलाउँदै गएको उनी थप्छन् । लोकपात्र, लोककथ्य तथा लोक चरित्रको छनक पाइयो । राजनीतिक तथा सामाजिक विकृति विरुद्ध तीखो प्रहार गरिएको यस नाटकलाई दर्शकले खूबै रुचाए ।
लोकजीवन, ग्रामीण भाका र स्थानीय विषयवस्तुमा केन्द्रित रहेर सामाजिक र राजनीतिक विसङ्गति विरुद्ध तीखो व्यङ्यवाण प्रहार गर्दै प्रस्तुत गरिएका नाटक छुतहा घैललाई दर्शकहरुले खुबै मन पराए भने आयोजक संस्था तथा परवाहावासी प्रस्तुतिलाई सफल पार्न गम्छा कसेर लागे ।
मिथिलामा तिनताका विद्यमान जाति व्यवस्था, खाद्यपदार्थ, आचार–व्यवहार तथा नियम–कानुनका थुप्रै पक्ष यसमा प्रकट भएका छन् । निरन्तर हाँसोको फोहोरा र तालीको गडगडाहटले गुञ्जायमान रह्यो। प्रत्येक संवाद र आंगिक अभिनयपछि दर्शकको रोमाञ्च र प्रतिक्रिया प्रेक्षालयमा छरिने गर्दथ्यो । यसबाट के देखिन्थ्यो भने हरेक दर्शकले नाटकको भरपूर रसास्वादन गरिरहेका छन् ।
परवाहामा मञ्चित नाटकहरु
परवाहामा मलंगियाका नाटकहरु ओकरा आँगनक बारहमासा, जुआयल कनकन्नी, गाम नञि सुतैय, काठक लोक, ओरिजनल काम, राजा सलहेस, कमला कातक राम, लक्ष्मण आ सीता, लक्ष्मण रेखाखण्डित, एक कमलनोरमे, पुस जाड Þकि माघ जाड़, खिच्चडि, छुतहा घैल, ओ खाली मुँह देखैछै को साथै एकाङ्कीहरु टूटलतागक एकटा ओर, लेवराह आन्हरमे एकटा इजोत, गोनूक गबाह, हमरो जे साम्ब भैया, “बिरजू, बिलटू आओर बाबू”, मामा सावधान, देहपर कोठी खसा दिअ, नसबन्दी, आलूक बोरी, भूतहा घर, प्रेत चाहे असौच, फोनक करामात, एकटा बताहि आयल छलय, मालिक सभ चल गेलाह, भाषणक दोकान, फगुआ आयोजन आ भाषण, भूत, एक टुकड़ा पाप, मुहक कात, प्राण बचाबह सीतारामको प्रस्तुति तथा अध्ययन परवाहाले गरेको छ ।को थिए गोनु झा ?
गोनु झालाई महान समाज सुधारकका रुपमा मैथिली साहित्य संसारमा हेरिन्छ । कुनै पनि समस्या, जस्तोसुकै समस्यालाई पनि साम्य पार्ने क्षमता उनमा थियो । समस्यालाई छुमन्तर, चुटकीमै हल गर्ने सामथ्र्य उनमा थियो । उनको यिनै चातुर्यता, कुशलता एवं निपुणताले मैथिली लोकजीवनमा अझै पनि अविस्मरणीय नाम हुन् ।
उनी अनाचारलाई प्रतिकार गर्दथे । जस्तोसुकै हठधर्मी, अधर्मी, दुराचारीलाई आफ्नो वुद्धि–कौशलले पाठ पढाएर छक्का छोडाई दिन्थे । उनी दण्ड दिन जान्दथे । मुर्ख बनाएर बदला पनि लिन जान्दथे । समाज सुधारक, लोक अभियानी, ज्ञानी–गुणी, क्षमाशील, वाकपटुतामा तीक्ष्ण, सहृदयीय थिए । उनी सङ्घर्ष गर्नबाट कहिले चुकेनन्, न कहिले कसैबाट डराए, न कहिले कोहिसँग पराजित भए । यस्ता सुधर्मी सुधारकका कथा–खिस्सा आज पनि लोक जीवनमा व्याप्त छ । उनका कथा सुनेर पेट मिचिमिचि नहाँस्ने सायदै कोहि होलान् ।
परवाहाको नाट्य महोत्सवमा सहभागिता तथा आयोजन
मैथिली नाटकलाई स्तरउन्नति सँगै अन्तर्राष्ट्रिय नाट्य जगतमा पहिचान स्थापित गर्नका लागि रामानन्द यूवा क्लव, मैथिली विकास कोष आदिले बेलाबेलामा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्दै आएकाबेला यूवा नाट्यकला परिषद्, परवाहाले पनि ती महोत्सवहरुमा सहभागिता सँगै महोत्सवको आयोजना पनि गरेको पाइन्छ । वि.सं. २०४८ सालमा विराटनगरमा चर्तुभुज आशावादीद्वारा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा युनाप परवाहाले विरजु, विल्टु आ बाबु नामक नाटक मञ्चन गरेका थिए ।
यस्तै, यूनाप परवाहाले जनकपुरमा वि.सं. २०७१सालमा नेपाल–भारत सम्मलित अन्तर्राष्ट्रिय नाटक महोत्सवको आयोजना गरेको थियो ।
नेपाल र भारतमा आयोजना हुने महोत्सवहरुमा यहाँका संघसंस्थाले आफ्नो प्रस्तुतिले प्रसिद्धि मात्रै होइन पुरस्कार तथा सम्मान पनि पाइ रहेका छन् ।
नेपाल र भारतका रङ्गकर्मीहरुको जमघटले एकअर्काको सिर्जनात्मक पक्षलाई अवलोकन गर्ने, समिक्षा गर्ने अवसर पनि जुरायो । यसरी नै नाट्यक्षेत्रलाई उत्साहको रङले छोप्दै लगेको छ ।
भविष्य खोज्दै परवाहाका महिला रङ्गकर्मी
कुनैबेला जनकपुरधामजस्तो नाट्यकर्मका लागि पुरुष कलाकारहरुले नै महिला कलाकारको भूमिका गर्दथे । यसैवीच बहुचर्चित रङ्गशिल्पी रमेश रञ्जनकी छोरी प्रियङ्का झा भने समकालिन रङ्गमञ्चका एक स्थापित नाम हो । नाटक छुतहा घैल मार्फत उदाएका नटी तथा केन्द्रीय भूमिका रहेकी किशोरीहरुले सजीव, प्रभावोत्पादक एवं जीवन्त अभिनयले परवाहाले महिलापात्रका लागि पुरुषले नै भूमिका खोजी रहनुपर्दैन् भने प्रमाणित गरेको छ । उनीहरुद्वारा गरिएको अभिनयामा हास्यव्यङ्ग्य, करुण वाद–संवाद नाटकमा थप रोचकता तथा तालमेल बढाएको पाइन्छ । यसरी नै उनीहरु रङ्गकर्ममा आफ्नो भविष्य खोजिरहेका छन् ।
मैथिली रङ्गमञ्चको उनीहरु सबभन्दा कान्छो पुस्ता हो जो अलि फरक छ । त्यो पुस्ताले फरक बुझ्छ, फरक सोच्छ र फरक अभिव्यक्त पनि गर्छ । उनीहरूलाई आफूलाई अभिव्यक्त गर्नु छ र त्यसको सबभन्दा सहज र प्रभावकारी माध्यम आफ्नो मातृभाषा भएकाले मैथिली रङ्गमञ्चमा काम गरिरहेको बताउँछन् ।
यसरी सुदीर्घ नाट्यपरम्परा, जीवन्त इतिहास तथा रङ्गप्रसव पीडा बोकेको परवाहाका रङ्मञ्चले उज्जवल सम्भावना तथा सङ्केतहरुलाई उजिल्याएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार