विराटनगर, ३२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०–८१ को आय–व्ययको सार्वजनिक गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ । कुल विनियोजनमध्ये चालू खर्च रु १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च रु १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार, वित्तीय व्यवस्थातर्फ रु एक करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ । चालू खर्चमध्येमा संघीय अनुदान बचत फिर्तातर्फ रु दुई अर्ब रहेको छ ।
सार्वजनिक भएको बजेटमा आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट रु ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरण गरी जम्मा ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोर्ने जनाइएको छ ।
बाँकी अपुग रकम नगद मौज्दातबाट तीन अर्ब ७५ करोड एक लाख तथा वैदेशिक अनुदानबाट १५ करोड चार लाख ६० हजार व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख छ ।


