काठमाडौं, ३१ जेठ । चीनमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत जुडोका लागि ८ खेलाडी छनोट भएका छन् ।
नेपाल जुडो संघले खुसिबुस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडीको अन्तिम छनोट गरिएको हो ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार पुरुष र महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएका छन् ।
पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक, ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ, ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारू र १०० केजीमाथि आर्मीकै रन्जेश गोले छनोट भए ।
महिला ५२ केजीमाथि बागमती प्रदेशकी देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठले एसियाड सहभागिता निश्चित गरे ।
इन्द्र र देवकी सहोदर दाजु–बहिनी हुन् । इन्द्र, देवकी र मनिता बन्दी सहायता नियोग (पाम) का उत्पादन पनि हुन् ।


