काठमाडौं, १९ जेठ । मदन भण्डारी कप बास्केटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा ललितपुर हाई र आर्मी विजयी भएका छन् । कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलातर्फको खेलमा ललितपुर हाईले धरान बास्केटबल एसोसिएसनलाई ७२—३९ अंकले हराएको हो ।
ललितपुर हाईका लागि काभ्या सिङ्लाले १४ अंकको योगदान गरिन् । उनी ‘मोस्ट भ्यालुएवल प्लेयर’ घोषित भइन् । पुरुषतर्फको खेलमा आर्मीले डाउनटाउन स्पोर्टस सेन्टरलाई ९५—८३ अंकले पराजित ग¥यो । विजयी टोलीका रामकृष्ण घताने ‘मोस्ट भ्यालुएवल प्लेयर’ घोषित भए ।
महिलातर्फको अर्को खेलमा रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१—३० अंकको फराकिलो अन्तरले पाखा लगायो । उक्त खेलमा विजयी टोलीकी मीना गुरुङ ‘मोस्ट भ्यालुएवल प्लेयर’ घोषित भइन् । महिलातर्फकै अर्को खेलमा बुढानिलकण्ठ बास्केटबल क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ६८—२० अंकले पाखा लगायो । विजयी टोलीका बिनामनी योञ्जन ‘मोस्ट भ्यालुएवल प्लेयर’ घोषित भइन् ।
पुरुष तथा महिलातर्फ विजयी हुने टोलीले जनही एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने जानकारी आयोजक मनद भण्डारी स्पोर्टस एकेडेमीले दियो । दुबै स्पर्धामा दोस्रो हुने टोलीले भने ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


