प्रधानमन्त्री प्रचण्ड आज इन्दोरमा, अवलोकन र भेटघाट गर्ने


काठमाडौँ, १९ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको इन्दोरमा विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड बिहान ८ बजे नयाँदिल्लीबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो करिब एक बजे उनी इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ ।

त्यस्तै दिउँसो चार बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेटघाटको कार्यक्रम छ ।

उनले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने कार्यक्रम छ । इन्दोरको फोहोर व्यवस्थापन नमूनायोग्य मानिन्छ । इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरको रुपमा स्थापित छ ।

बेलुका उनी मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा भाजपा र आरएसएसका नेताहरूसँग भेटघाट गर्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले शनिबार जेठ २० गते इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली फर्किने छन् । सोही दिन अपराह्न ४ः२० बजे उनी नयाँदिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।

भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जेठ १७ गते नयाँदिल्ली गएको थियो । प्रधानमन्त्री प्रचण्डले जेठ १९ गते प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु लगायतसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो । मूलतः ऊर्जा र पारवहन क्षेत्रमा भएको सहमति ‘ऐतिहासिक’ भएको जनाइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार