नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा प्रवेश


काठमाडौं, ९ जेठ । पाहुना टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै आयोजक नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा एक खेलअगावै स्थान पक्का गरेको हो ।

समूह ‘ए’को खेलमा यसअघि भारतले पनि लगातार दोस्रो खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन् ।

अब नेपाल र भारतबीच समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा हुनेछ । लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

पाहुन टोली बंगलादेशमाथि एकपक्षीय जित निकाल्ने क्रममा पहिलो सेटमा २५–१० को जित निकालेको थियो । दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौती दिए पनि नेपालले २५–८ को सहज जित निकाल्दा नेपालले २–० ले अगाडि रहेको थियो । दोस्रो सेटको खेलमा ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता लिँदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार