मुखियापट्टिले किन्यो एम्बुलेन्स, १५ गतेदेखि सञ्चालन गरिने


जनकपुरधाम, ९ जेठ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ ।

जिल्लाको तल्लो क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।

भौगोलिक रुपमा विकट यस गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन करिब २० लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले बताए ।

‘गाउँपालिकामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका थिए,’ अध्यक्ष यादवले भने, ‘यसलाई मध्यनजर गर्दै हामीले एम्बुलेन्स खरिद गरेका छौं ।’

खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाको मातहतमा सञ्चालन हुने उनले बताए । ‘यस गाउँपालिकाको कुनै पनि वडाबाट जनकपुरधामसम्म एम्बुलेन्सको भाडादर १ हजार रुपैयाँ हुने गरि कार्यपालिकाबाट निर्णय गरेका छौं,’ उनले भने, ‘एम्बुलेन्स १५ गतेदेखि सञ्चालन हुने सम्पूर्ण पालिकाबासीहरुमा जानकारी गराउँदछु ।’

जिल्लाको सबैभन्दा विकट र दुरदराजमा रहेको यस क्षेत्रका नागरिक बिरामी हुदाँ सहज रुपमा अस्पतालसम्म पुग्ने व्यवस्था गर्नको लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको अध्यक्ष यादवले बताए ।

‘एम्बुलेन्स सञ्चालन भएपछि घण्टौं समय लगाएर गाउँबाट असुरक्षित तरिकाले बिरामी ल्याउने अवस्थाको अन्त्य हुने अपेक्षा गरेका छौं,’ यादवले भने ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार