काठमाडौं, २७ बैशाख । आउँदो महिना जिम्बाब्वेमा हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० टोलीको टुंगो लागेको छ ।
बंगलादेश र आयरल्याण्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएसँगै विश्वकप छनोट खेल्ने १० टोलीको टुंगो लागेको हो ।
बंगलादेशसँगको खेल रद्द हुँदा आयरल्याण्ड सोझै विश्वकपमा पुग्न असफल हुँदा दक्षिण अफ्रिकाले भने छनोट खेल्नुपर्ने छैन । मंगलबारको खेलमा वर्षा बाधक नबनेको विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधै विश्वकप खेल्ने आयरल्याण्डको सम्भावना थियो ।
दक्षिण अफ्रिका सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा सिधै प्रवेश पाउने अन्तिम टोली बन्यो । हालसम्म आयोजक भारत, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, बंगलादेश, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपले सोझै विश्वकपमा स्थान बनाएका छन् ।
विश्वकपका लागि बाँकी दुई टोली विश्वकप छनोटबाट आउनेछन् । विश्वकप छनोट प्रतियोगिता आगामी १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुनेछ ।


