बार्सिलोना स्पेनिस ला लिगको शीर्ष स्थानमा


एजेन्सी, १७ बैशाख । बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई हराउँदै स्पेनिस ला लिगको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा बार्साले ४–० शानदार जीत हासिल गरेको हो ।

बार्सिलोनाको जीतमा आन्द्रेस क्रिस्टिएन्सन, रोबर्ट लेवान्डोस्की र राफिनाले एक–एक गोल गरे । त्यस्तै, टोलीले गुईडो रोड्रिग्वेजको आत्मघाती गोल उपहार पाएको थियो । एडगर गोन्जालेसले दुईवटा पहेँलो कार्ड पाएपछि खेलको ३३ औँ मिनेटमा बेटिस १० खेलाडीमा सीमित बनेको थियो ।

खेलमा लामिन यामाल ला लिगामा बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । ८४ औँ मिनेटमा मैदानमा प्रवेश गरेका यामाल १५ वर्ष २९० दिनका हुन् । उनी लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन् ।

यसअघि सन् २०२० मा रियल मड्रिडविरुद्ध मायोर्काका लुका रोमेरो ला लिगामा सबैभन्दा कम उमेरमा लिग खेल्ने खेलाडी बनेका थिए । उनी १५ वर्ष २१९ दिनका थिए ।

जीतपछि बार्सिलोनाको ३२ खेलबाट ७९ अंक रहेको छ । योसँगै बार्साले लिग जित्ने नजिक पुगेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार