एसीसी कपको सेमिफाइनलमा करण केसीले लिए ५ विकेट


काठमाडौं, १६ बैशाख । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा करण केसीले ५ विकेट लिएका छन् ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेका केसीले ४.३ ओभर बलिङ गर्दै १० रन खर्चेर पाँच विकेट लिएका हुन् ।

केसीले कुवेतका क्याप्टेन मोहम्मद अस्लामसहित अद्नान इद्रीस, रविजा सन्ड्राउन, मीट भवभ्सर र सिराज खानलाई आउट गरे । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको थियो ।

खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको थियो । नेपालका करण केसी एक्लैले पाँच विकेट र सोमपाल कामीले एक विकेट लिएका छन् । सोमपालले परविन्दर कुमारलाई आउट गरे ।

यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार